भगवान भरोसामा बस्ने दिन नआओस्

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, २५ असोज २०७७, १८ : ०६
भगवान भरोसामा बस्ने दिन नआओस्

हाम्रो ठूलो चाड दशैं नजिकिँदैछ । त्यसलगत्तै आउँदैछन्, तिहार, नेपाल संवत, छठ । यो चाडपर्वको याम, विगतमा छुट्टै उल्लास छाउँथ्यो । चाडपर्वका बेला घरपरिवारका सदस्यहरु सबै एकैठाउँमा जम्मा हुने गरिन्थ्यो । अन्य चाडभन्दा दशैंका बेला अधिकांश मानिसहरु गाउँघर पुग्थे । पढ्न, जागिर खान र अन्य कामले शहर पसेकाहरु आफ्नो गाउँघर जान्थे । देशका विभिन्न कुनामा काम विशेषले पुगेकाहरु पनि आफ्नो घर पुग्थे । विदेशिएकाहरुमध्ये अधिकांश यही बेला छुट्टीमा स्वदेश फर्कन्थे ।  

करिब ५० लाख मानिस बस्ने काठमाडौं उपत्याकाबाट दशैंका बेला २५ लाख जति मानिसहरु बाहिरिन्थे । उनीहरु सबै आआफ्नो गाउँ पस्थे । जसले गर्दा गाउँघरमा छुट्टै रमाइलो हुन्थ्यो । छोराछोरीहरुको आगमनले बाआमाको मन हाँस्थ्यो । तर विडम्बना, यो वर्ष भने हामीले यी चाडहरुलाई पहिले जस्तै गरी मनायौं भने हामीले जोखिम निम्त्याउनेछौं । जसले दशैंपछि गाउँघरमा रुवावासी ल्याउन सक्छ ।

कोरोना भाइरस (कोभिड–१९) तीव्र गतिमा बढिरहेको काठमाडौं उपत्यकाबाट यस वर्षपनि त्यसैगरी मानिसहरु बाहिरिए भने उनीहरुले नेपालका हरेक गाउँगाउँमा कोरोना पु¥याउन सक्छन् । कोरोना लागेका अधिकांशमा लक्षण नै नदेखिने हुँदा उनीहरु आफू सुरक्षित भएको ठानी घर पुग्छन् । उनीहरुले अहिलेसम्म कोरोनाले छुन नसकेका गाउँघरमा पनि कोरोना लग्छन् । अनि विशेषगरी त्यहाँ रहेका वृद्ध बाआमाहरुलाई भाइरसले सताउने छ । किनकि भाइरसले तुलनात्मक रूपमा वृद्धवृद्धालाई छिटो आक्रमण गर्ने विज्ञहरूले भन्दै आएका छन् । अहिलेसम्मको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित भएकाहरुमध्ये वृद्धवृद्धाहरुको बढी मृत्यु भइरहेको छ । उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता पनि कम हुन्छ । अधिकांश वृद्धवृद्धाहरु दीर्घरोगबाट पीडित हुने भएकाले उनीहरुलाई कोरोना सरेमा संक्रमणमुक्त पार्न गाह्रो हुन्छ । 

यही जोखिमलाई मध्यनजर गरेर सरकारले धेरै बुढापाकासँग गएर टीका लगाएर आशीर्वाद नलिन आग्रह गरेको छ । जो जहाँ बसेका छौं त्यही बसेर दशैं मनाउन र अनलाइन भिडियो वा फोनबाट आशीर्वाद लिन भनेको छ । उपत्याका बाहिर जाँदा–आउँदा संक्रमण पनि ओहोरदोहोर हुने भन्दै विज्ञहरुले सचेत गराइरहेका छन् । धेरै भिडभाडमा गएर टिका लगाउने र खाना खाने काम बन्द गरी आफ्नै घरभित्र बसेर दशैं मनाउन सरकार र विज्ञहरुले गरेको आग्रहलाई हामीले मान्नै पर्छ ।

मबाहेक सबै संक्रमित हुन सक्छन्, वा म आफै संक्रमति भएको हुनसक्छु, मात्र लक्षण नदेखिएको हुन सक्छ भनी सचेत भएर हामीले सुरक्षा विधि अपनाऔं । विगतमा झैं आफन्तकोमा चाहार्दै नहिडौं । घरमै वा जो जहाँ छौं त्यहींबसेर मनायौं भने हामीले धेरै आफन्तलाई कोरोनाबाट बचाउन सक्छौं ।

हामीले अझै कोरोनालाई फैलायौं भने हामीलाई उपचार गर्न अस्पताल र डाक्टर नपाउने हुनसक्ने चेतावनी सरकारले दिइसकेको छ । अहिलेकै अवस्थामा अस्पतालमा बेड, डाक्टर, आइसीयू र भेन्टिलेटरको अभाव हुन थालिसकेको छ । यस्तो अवस्थामा हामीले चाडवाडका नाममा गाउँघर पुगेर कोरोना सा¥यौं भने हामी सबै भगवान भरोसामा बाँच्नुपर्ने दिन नआउला भन्न सकिन्न । भगवानको भरोसामा कसरी बाँच्लान् ती रोगी वृद्ध बाआमा ? अनि डाक्टरको अभावमा कहिलेसम्म लड्ला वयश्कहरुको शरीरले कोरोनासँग ? त्यसैले हामीहरु सचेत बनौं ।

सरकारले लकडाउन खुकुलो पारेको कोरोनाको जोखिम कम भएर होइन । हामी आमजनताकै जीवन, अर्थव्यवस्थालाई चलायमान बनाउन हो । तर लकडाउन र निषेधाज्ञापछि अधिकांश मानिसहरु कोरोना भनेको सामान्य रहेछ, यो भाइरस लागे पनि सजिलै निको हुने रहेछ भन्ने गलत बुझाइ लिएर डराउनै छाडेका छन् । आफैलाई कारोना लागेर वा परिवारलाई लागरे दुःख अनुभव गर्न नपाएसम्म नचेतिने स्वभाव हामीहरुले देखाइरहेका छौं । त्यसैले यो भाइरस भुसको आगोसरि तीव्ररुपमा फैलिरहेको हुन सक्ने विज्ञहरुले चेतावनी दिँदै आइरहेका छन् ।

लकडाउन र निषेधाज्ञाको समयमा अधिकतम एक हजारको हाराहारीमा संक्रमित देखिने गरेकोमा पछिल्लो समय ५ हजारभन्दा बढी संक्रमितहरु एकैदिन भेटिन थालेका छन् । अहिले नेपालमा निकोे हुने दर दक्षिण एसियाली मुलुकहरुभन्दा कम छ । नेपालमा पछिल्लो समय निधन हुनेहरुको संख्या पनि बढ्दै गइरहेको छ । चाडपर्व नजिकिँदै गर्दा गाउँसहरमा चहलपहल बढेकाले संक्रमण अझै तीव्ररूपमा बढ्न सक्छ ।

सरकारको तीव्र परीक्षण र जनताले सुरक्षा विधि अपनाएकै कारण कोरोना भाइरसको सुरुवात भएको चीनमा अहिले संक्रमितहरुमा निकै कमी आएको छ । त्यसैले नेपालमा पनि कोरोना परास्त गर्न सरकारले हरसम्भव उपाय अपनाउनुपर्छ । नागरिकले पनि परिस्थितिको गम्भीरताबोध गर्दै पर्याप्त सतकर्ता अपनाउनुपर्छ । 

यो संक्रमण तत्काल रोकिने सम्भावना छैन । विश्वव्यापीरुपमा फैलिएको यस महामारी विरुद्धको खोप नबनेसम्म कोरोनाको भय कम हुने देखिँदैन । त्यसैले हामी सबै संक्रमित भयौं । अहिलेसम्म कोरोना पुग्न नसकेका गाउँघरमा कोरोना पु¥यायौं भने भोलि हामी सबैको रुने दिन आउनसक्छ । कोरोना महामारीलाई परास्त गर्ने भनेको कि त खोप बनाउने वैज्ञानिक, कि त आममानिसहरु नै हुन् । सरकरले जस्तोसुकै कदम चालेपनि हामी नागरिकहरु सचेत नबनेसम्म यो महामारीको फैलावट रोकिने छैन ।

एउटाले लापरबाही गर्दा कैयौंलाई असर पर्छ भन्ने कुरा हामीले भुल्नु हुँदैन । हामी स्वस्थ भएर जीवन रहे चाडबाड मनाइरहन पाइन्छ भन्ने सोचेर हामीले जोखिम मोलेर चाड नमनाऔं । नत्र हाम्रो जीवनले आगामी वर्षका चाडपर्व मनाउन नपाउला । दशैंकोे रमाइलो पछि रोदन बन्ला । भगवान भरोसामा बाँच्ने दिन आउला । सबैसँग मेरो कामना छ ‘दशैंमा गरिएको रमाइलोले पछि रुवावासी नल्याओस्, भगवान भरोसामा बस्ने दिन नआओस् ।’