डा. केसीले अनसन तोडेपछि कांग्रेसले भन्यो– सहमति कार्यान्वयन होस्

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, १२ : १९
डा. केसीले अनसन तोडेपछि कांग्रेसले भन्यो– सहमति कार्यान्वयन होस्

काठमाडौं । आमरण अनशनको २७ दिनमा डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिलाई नेपाली कांग्रेसले स्वागत गरेको छ । 

सरकारले नचाहँदा नचाहँदै पनि चौतर्फी दबाबपछि सहमति भएको बताउँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा केसीले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो । जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउँदै सहमतिमा पुगेको छ । सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तर विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं ।’

वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा गत ०७५ साउन १० गते डा केसीसँग गरिएको सहमति सोही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको स्मरण गर्दै काँग्रेसले भनेको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा रहेकोे अघिल्लो सरकारले डा केसीका मागहरू पुरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको थियो । अतः थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति ईमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न नेपाली कांग्रेस वर्तमान सरकारलाई सजग गराउँदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ ।’

गएराति भएको ८ बुँदे सहमतिपछि केसीले आइतबार बिहान अनसत तोडेका थिए ।

प्रतिक्रिया दिनुहोस