कोरोना सङ्क्रमण : प्रदेश १ मा चार हजार ७७४ निको भए , गण्डकीमा थप  एकको मृत्यु , सुदूरपश्चिममा सङ्क्रमित र मृत्यु दरमा केही वृद्धि

रासस

शुक्रबार, २३ असोज २०७७, २० : ५६
कोरोना सङ्क्रमण : प्रदेश १ मा चार हजार ७७४ निको भए , गण्डकीमा थप  एकको मृत्यु , सुदूरपश्चिममा सङ्क्रमित र मृत्यु दरमा केही वृद्धि

काठमाडौँ । प्रदेश  १ मा आज ४८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये  १४९ महिला र ३३६ पुरुष रहेका छन् ।  केही दिनदेखि लगातार सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

थपिएका सङ्क्रमितमा मोरङमा २३० मध्ये विराटनगरमा १५२, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा सात, संखुवासभामा छ, उदयपुरमा पाँच, भोजपुर र ताप्लेजुङमा चार÷चार, खोटाङमा दुई, तेह्रथुम र ओखलढुङ्गामा एकएक र प्रदेश बाहिरका ३९ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार ३४१ पुगेको छ भने अहिलेसम्ममा चार हजार ७७४ जना निको भएर घर फर्किएका छन् ।पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ४४३ जना सहित अहिलेसम्ममा एक लाख ३४ हजार ७७३ जनाको पिसिआर परीक्षण भइसकेको  मन्त्रालयले जनाएको छ ।

कोनाबाट थप  एकको मृत्यु 
गण्डकी प्रदेशमा २४ घण्टामा ११९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार ६१७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण प्रदेशमा हालसम्म ३८ जनाको मृत्यु भएको छ भने तीन हजार २२७ जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३५२ जना पुगेको निर्देशनालयले जनाएको छ । 

सङ्क्रमित  र मृत्यु  दरमा केही वृद्धि
सुदूरपश्चिम प्रदेशमा आज  ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम,बझाङ, डडेलधुरा,दार्चुला र डोटी जिल्लाका नयाँ सङ्क्रमित थपिएका हुन् । मन्त्रालयको तथ्याङ्कमा थपिएका सङ्क्रमितमा सुर्खेत जिल्लाका समेत एक जना रहेका छन् ।

प्रदेशमा हालसम्म  सात हजार ८८९जना सङ्क्रमित पुगेका छन् । सक्रिय सङ्क्रमित बिरामी एक हजार ४० जना  रहेका छन् ।  यही असोज महिना लागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ ।  सङ्क्रमणवाट यही असोज महिनामा थप छ जनाको मृत्यु भएपछि आज सम्म  मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको छ । सक्रिय सङ्क्रमितको दर पनि पछिल्ला दिनमा बढ्दै गएको देखिएको छ ।  

 तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाइ खास गरी बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । कोभिड—१९को सङ्क्रमणका कारण हालसम्म  कैलालीमा नौ ,अछाम, बझाङ,र बाजुराका दुई÷दुई  र कञ्चनपर,डडेलधुरा र बैतडीका एक÷एक जनाको  मृत्यु भएको छ । 

पछिल्ला दिनमा प्रहरी कार्यालयका प्रमुख सहितका प्रहरी कोरोना सङ्क्रमण देखिएपछि  यसको असर सुरक्षा व्यवस्थापनमा पनि देखिन थालेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक बिष्टले प्रहरी कोरोनाबाट सङ्क्रमित हुँदा केही असहज महशुस भएपनि शान्ति सुरक्षा व्यवस्थापन लगायतको नियमित काममा  समस्या नरहेको जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहित जिल्लाभरी हालसम्म ५४जना  प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  ती मध्ये १३जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस