कोरोना सङ्क्रमणबाट पुरुषको मृत्यु

रासस

शुक्रबार, २३ असोज २०७७, २० : १२
कोरोना सङ्क्रमणबाट पुरुषको मृत्यु

काठमाडौँ । सप्तरीमा कोरोना सङ्क्रमणबाट  थप एक जनाको मृत्यु भएको छ ।  रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिनुभयो । 

बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उहाँको काठमाडौंमा कोरोना पोजिटिभ देखिएको रुपनी–१ का सन्तोष यादवले जानकारी दिनुभयो । काठमाडौंँ मेडिकल कालेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन्  । यससँगै सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २० जना पुगेको छ ।

 जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षकको कार्यभार सम्हाल्न आउनु भएका ३६ वर्षीय पुरुषसहित पाँच जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि सरुवा भएर काठमाडौं जानु भएका प्रनाउ कोरोना सङ्क्रमणबाट मुक्त भएपछि नयाँ प्रनाउ राजविराज आउनु भएको हो ।  यसैगरी आज अन्य सङ्क्रमित हुनेमा राजविराज नगरपालिका– १ का ५६ वर्षीय, राजविराज वडा नखुलेको ५६ वर्षीया र ६५ वर्षीय तथा सुरुङ्गा नगरपालिकाको वडा नखुलेका ४५ वर्षीय सङ्क्रमित भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । 

योसँगै जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ३६३ पुगेको छ । ती मध्ये १ हजार १०३ जना निको भएका छन् । हाल जिल्लामा सक्रिय सङ्क्रमित २ सय ४० जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस