कोरोना भाइरस (कोभिड–१९)

नेपालमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन ? तयारी हुँदैछ ‘एन्टिबडी’ परीक्षणको

सफल खबर संवाददाता

शुक्रबार, २३ असोज २०७७, १५ : ४९
नेपालमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन ? तयारी हुँदैछ ‘एन्टिबडी’ परीक्षणको

फाइल फोटो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन ? यसको जवाफ सरकारसँग पनि छैन । संक्रमण समुदायस्तरमा कुन हदसम्म फैलिएको छ भन्ने पत्ता लगाउन सरकारले एन्टीबडी परीक्षणको तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालीमपश्चात टोलीलाई आज प्रदेशहरुमा खटाइएको हो ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको बताए । अध्ययनबाट नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिएका छ वा छैन ? फैलिएको रहेछ भने कुन तहमा रहेको छ भन्ने पत्ता लाग्ने उनले जानकारी दिए । 

एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ । टोली आज सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालीमपश्चात आइतबारबाट रगतको नमूना सङ्कलन गर्नेछ । 

महाशाखाले एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । ती समूहले बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर तथा समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलनबाट एन्टिबडी परीक्षण गर्ने छन् ।

सङ्क्रमित भएका र नभएकाको पनि एन्टिबडी परीक्षण गर्नेछ । महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वडामा रहेका मानिसको रगत नमूना परीक्षण गरिने बताए । उनका अनुसार एक वडामा १५ जनाको दरले नमूना परीक्षण गरिनेछ ।

यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १५० जनाको नमूना सकलन गरी परीक्षण गरिने छ । उनले दशैँ अगाडि सबै नमूना सङ्कलन गरेर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण फैलिएको भन्नेबारेमा अध्ययन शुरु गरेको हो ।

अध्ययनका क्रममा जति प्रतिशतलाई सङ्क्रमण देखियो त्यतिप्रतिशत नै नेपालमा सङ्क्रमण फैलिएको भन्ने अनुमान गर्न सकिने महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले जानकारी दिए । “सङ्क्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, महाशाखाका निर्देशक डा। पाण्डेले भने, “तर अब अध्ययन गरेपछि मात्र समुदायमा सङ्क्रमण छ वा छैन भन्ने पुष्टि गर्दछ ।”

गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । 

सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खासखास ठाउँ (क्लस्टर) मा सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा ९८ हजार ६ सय १७ जनामा सङ्क्रमण देखिएको छ । ७१ हजार ३ सय ४३ जना सङ्क्रमणबाट निको भएका छन् । कोरोना संक्रमणबाट ५ सय ९० जनाको निधन भएको छ । २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म २ सय ३५ जना आइसियु र ४२ जना भेन्टिलेटरमा उपचाररत छन् । 

प्रतिक्रिया दिनुहोस