कोरोनाले भयावह रुप लिँदै, ५८ प्रतिशत सक्रिय संक्रमित राजधानीमा

पत्रपत्रिकाबाट

शुक्रबार, २३ असोज २०७७, ०८ : १३
कोरोनाले भयावह रुप लिँदै, ५८ प्रतिशत सक्रिय संक्रमित राजधानीमा

काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो ।

 स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५८.२० प्रतिशत अर्थात् २ हजार ५ सय ४० जना छन् । ‘हामी अत्यन्त गम्भीर अवस्थामा पुग्यौं’, स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा वासुदेव पाण्डेले  भने ।

महिला संक्रमित हुने क्रम व्यापक बढेको छ । बिहीबार पुष्टि भएका कुल संक्रमितमध्ये ३५.७६ प्रतिशत महिला छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये २९ प्रतिशत महिला छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पीसीआर परीक्षण बढाइएपछि संक्रमित धेरै फेला परेका हुन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस