अदालत पुग्यो कास्कीको  ‘भैंसी’ विवाद

पत्रपत्रिकाबाट

विहीबार, २२ असोज २०७७, ०८ : २२
अदालत पुग्यो कास्कीको  ‘भैंसी’ विवाद

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा भैंसी धनीको विवाद प्रहरी, न्यायिक समिति हुँदै अदालत पुगेको छ । न्यायिक समितिले भैंसी एक पक्षको भएको निर्णय गरेपछि अर्को पक्षले उक्त निर्णय बदर गर्न माग गर्दै बुधबार जिल्ला अदालतमा रिट दायर गरेको हो । अन्नपूर्ण–१० घान्द्रुकका रामबहादुर परियारले गत वर्षको जेठमा आफ्ना १–१ वर्षका दुईवटा पाडा मोक्यु लेकको गोठमा पुर्‍याएका थिए । दाजु सुकबहादुरले व्यावसायिक गाईभैंसीपालन गरेकाले उनकै गोठमा रामबहादुरले पाडा छोडेका थिए । लेकमा चर्दाचर्दैका दुवै पाडा फागुनमा हराए ।

रामबहादुरले लेकतिरको भेग धेरै खोजे, फेला परेनन् । असारको २७–२८ मा उनले अन्नपूर्ण–८ दाङसिङको लेक थमडाँडामा दुई नयाँ पाडा देखापरेको खबर पाए । बर्खा भएकाले उतिबेलै जान सकेनन् । साउन ६ मा उनी छोरालाई साथ लिएर थमडाँडा पुग्दा थमडाँडा सामूहिक अर्ग्यानिक कृषि तथा पशुपन्छी फार्ममा दुई पाडा भेटिए । उनले आफ्नो भन्दै गोठालासँग दाम्लो मागेर भैंसी लिएर घर फर्के ।

९–१० दिनपछि फर्मका सञ्चालक रामप्रसाद ढुंगाना र दिनेश गुरुङलगायत रामबहादुरको घरमा पुगे । भैंसी आफ्नो भएकाले फिर्ता दिन भने । माघ १० मा दुई भैंसी लामखेतका सविन तिवारीसँग ५३ हजार रुपैयाँमा किनेको उनीहरूको दाबी थियो । रामबहादुरले बेंसी र लेकको भैंसीको रौं नै फरक हुने तर्क गरे । भैंसीको गुनबैगुन सोधे । उनीहरूले केही बताउन सकेनन् । घान्द्रुक चौकीका प्रहरी र स्थानीय भद्रभलादमीसहित दुई पक्षबीच छलफल भयो । भैंसी कसको भन्ने टुंगो लागेन ।

फर्म सञ्चालक ढुंगानासहितको टोली गाउँपालिकाकै वीरेठाँटी चौकीमा पुगे । प्रहरीले पोखराको बगर चौकी जान भन्यो । बगर चौकीका प्रहरीमा कोरोना देखिएकाले छलफल हुन सकेन । विवाद गाउँमै मिलाउन भन्दै फर्काइदियो । फर्म सञ्चालकले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए । अब यो विवाद रामबहादुर र अर्का फर्म सञ्चालकको मात्रै भएन, बरु घान्द्रुक र दाङसिङबीच भयो । एकअर्कालाई चोरदोष लगाएकाले इज्जतको सवाल भएको दुवै गाउँलेले सम्झिए ।

गाउँपालिका उपप्रमुख सगुन गुरुङले तीनपल्टसम्म दुवै पक्षलाई राखेर छलफल चलाइन् । दुवै पक्षले आआफ्नो तर्क पेस गरे । न्यायिक समितिकी संयोजक उनी असोज १४ मा घान्द्रुकमै पुगिन् । रामबहादुर घरमा थिएनन् । गोठमा पुगेर भैंसी हेरेपछि उनले ती दुई पाडा दाङसिङेको भएको निर्णय गरिन् । फर्म सञ्चालकलाई गोठबाट भैंसी फुकाउन भनिन् । स्थानीयले फुकाउन दिएनन् । दुई पक्षबीच झडपको स्थिति आयो । 

रामबहादुरको भैंसी फागुनमा हराएको तर थमडाँडाको फर्म सञ्चालकले माघ १० मै भैंसी किनेकाले उनीहरूकै भएको निष्कर्षमा पुगेको तर्क उनले गरिन् । न्यायिक समितिले प्रहरीलाई निर्णय कार्यान्वयन गराउन पत्र लेख्यो । फर्म सञ्चालक प्रहरी लिएर असोज १५ मा घान्द्रुक गएका थिए । स्थानीयले विरोध गर्ने चाल पाएपछि प्रहरीको टोली बाटैबाट फर्कियो । दाङसिङका गाउँवासी नै मिलेर नक्कली भैंसी बिक्रेता खडा गरेको रामबहादुरको आरोप छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस