मनसुनजन्य घटना : यस वर्ष ठूलो मानवीय क्षति

रासस

बुधबार, २१ असोज २०७७, १७ : २९
मनसुनजन्य घटना : यस वर्ष ठूलो मानवीय क्षति

– नारायण ढुङ्गाना 
काठमाडौं । नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति हुन पुगेको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बाढी, पहिरो, डुबान र चट्याङले ठूलो मानवीय क्षति गराएको हो । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालका ४९ जिल्ला प्राकृतिक विपद्बाट प्रभावित बन्न पुगे ।

कूल बाढी/पहिराका मात्रै ५८० घटना भए । प्रारम्भिक विवरणअनुसार कूल ५१४ घरमा क्षति पुगेको जनाइएको छ । सरकारले प्रभावितका लागि झण्डै रु सात करोड राहत वितरण गरेको छ । मुख्यगरी भेल पहिराले ठूलो क्षति पु¥याएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । 

पहिराले सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुर्यायो भने बाढीले बाग्लुङमा बढी क्षति गर्यो । सिन्धुपाल्चोकमा सबैभन्दा बढी ७२ को मृत्यु भएको छ भने ३९ अझै बेपत्ता छन् । गृहमन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मनसुनजन्य विपद्बाट मुलुकका ४९ जिल्लामा ४०२ ले ज्यान गुमाएका छन्, १०१ जना बेपत्ता रहेका र ४४६ घाइते भएका छन् । प्रारम्भिक प्रतिवेदनअनुसार कूल ५१४ घर क्षति भएको जनाइएको छ । 

त्यसमध्ये पहिराले ठूलो मानवीय क्षति गरायो । वैशाखयता पहिराबाट मात्रै २९५ जनाले ज्यान गुमाए । पहिरामा परेर ६४ बेपत्ता भए भने २२३ जना घाइते भएका छन् । बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ घाइते भए । यस्तै चट्याङबाट ६५ को मृत्यु र २१२ जना घाइते भएको तथ्याङ्क छ ।

मुख्यगरी गत जेठ ३० बाट नेपालमा मनसुन सक्रिय भएको थियो । अधिकांश घटना मनसुन सक्रिय भएपछि नै भएका छन् । यसपाली यो समयमा औषतभन्दा धेरै वर्षा भएकाले पहिराका घटना बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जेठ ३० पछि अहिलेसम्म विपद्बाट ३६७ को मृत्यु भएको तथा १०० जना हराइरहेका तथ्याङ्क छ । कूल ३२४ जना घाइते भएका छन् ।

मनसुनपछिको पहिरामा परेर २९३ को मृत्यु, ६४ बेपत्ता र २२२ घाइते भए । बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र नौ घाइते भए । चट्याङबाट ३५ को मृत्यु  र ९३ जना घाइते भएको विवरण छ । विपद् जोखिम व्यवस्थापन विज्ञ कृष्ण देवकोटा पानीको निकासमा भएको अवरोध र वातावरणमैत्री विकास हुन नसक्नु नै विपद्जन्य घटनाको प्रमुख कारण रहेको बताउँछन् । 

जताततै डोजरको प्रयोग गर्दा त्यसले बाढी÷पहिराको जोखिम बढाएको छ । यस्तै एकै ठाउँमा अतिवृष्टि भएकाले पनि कतिपय भेल पहिरो आएको पाइएको भूगर्भविद्को भनाइ छ । प्राधिकरणका प्रमुख पोखरेल पर्वत, सिन्धुपाल्चोकका केही ठाउँ र अन्य केही जिल्लामा छोटो समयमा एकै ठाउँमा धेरै पानी पर्दा डाँडो नै सोहोरिएर भेल पहिरो खसेको बताउँछन् ।

गण्डकी प्रदेशमा ठूलो क्षति 
प्राधिकरणबाट प्राप्त विवरणअनुसार यसपाली मनसुनजन्य विपद् (बाढीपहिरो) का कारण सात प्रदेशमध्ये गण्डकी प्रदेशले ठूलो क्षति बेहोरेको छ । उक्त प्रदेशमा बाढी र पहिरामा मात्रै १२२ जनाले अकालमा ज्यान गुमाएका छन् । प्रदेश नं १ र २ बाहेक अन्य प्रदेशमा भने धेरै मानवीय क्षति भएको छ ।  चट्याङका घटनाबाहेक प्रदेश नं १ का झापा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा धनकुटा, सुनसरी, मोरङ र ताप्लेजुङगमा गरी छ जनाको मृत्यु, १२ बेपत्ता र १५ जना घाइते भएका छन् । विपद्जन्य घटनाबाट १४ घरमा क्षति पुगेको छ । 

यस्तै प्रदेश नं २ मा सर्लाही, धनुषा, रौतहट र सिराहामा विपद्का घटना भएका छन् । विपद्बाट उक्त प्रदेशमा एक बेपत्ता र चार जना घाइते भएका छन् । दुई घरमा क्षति पुगेको जनाइएको छ ।  वाग्मती प्रदेशका सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, मकवानपुर र काभ्रेपलाञ्चोकमा विपद्जन्य घटना भए । सिन्धुपाल्चोकमा मात्रै ७१ जनाको मृत्यु भयो भने अझै ३८ जना बेपत्ता छन् । वाग्मती प्रदेशमा मात्रै ८५ जनाको मृत्यु, ४० बेपत्ता र १९ घाइते भए । कूल १३० बढी घरमा क्षति भएको प्राधिकरण प्रमुख पोखरेलले बताए । 

गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा पहिरो गएर क्षति पुर्याएको छ । उक्त प्रदेशका पर्वत, कास्की, गोरखा, तनहुँ, म्याग्दी, नवलपुर, स्याङ्जा, लमजुङ, बाग्लुङ र मुस्ताङमा क्षति पुगेको छ । गण्डकीको सबैभन्दा बढी बाग्लुङमा ३४ जनाले ज्यान गुमाएका छन् भने अझै १७ जना हराइरहेका छन् । त्यसपछि म्याग्दीमा ३१ जनाको मृत्यु भएको छ । उक्त प्रदेशमा कूल १२२ जनाले ज्यान गुमाए । अझै २४ जना हराइरहेका छन् भने ५७ जना घाइते भए । त्यहाँ कूल १८४ घरमा क्षति पुगेको छ । 

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, रोल्पा, प्यूठानमा गरेर ३२ जनाको मृत्यु, दुई बेपत्ता र १९ जना घाइते भएका छन् । कूल १२ घरमा क्षति पुगेको जनाइएको छ । कर्णाली प्रदेशमा दैलेख, जाजरकोट, सुर्खेत, सल्यान, रुकुमपश्चिम, डोल्पा र कालिकोटमा विपद्जन्य घटना भएका छन् । उक्त प्रदेशमा कूल ५९ ले ज्यान गुमाएका छन् । अझै १२ बेपत्ता रहेका र ३२ जना घाइते भएका छन् । कूल ३८ घरमा क्षति पुगेको जनाइएको छ । 

यस्तै सुदूरपश्चिम प्रदेशका दार्चुला, बझाङ, डोटी, बाजुरा, कैलाली, बैतडी र अछाममा विपद्जन्य घटना भए । उक्त प्रदेशमा ३३ को मृत्यु भयो भने ११ जना हराइरहेका छन् । कूल २८ जना घाइते भएका छन् । त्यहाँ ११२ घरमा क्षति पुगेको जनाइएको छ । प्राधिकरणले अझै विवरण पूर्ण अध्यावधिक हुन बाँकी रहेको जनाएको छ । 

गृहमन्त्री रामबहादुर थापाले भौतिक क्षतिको विवरण अझै धेरै रहेको बताउँदै अध्यावधिक गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयले अन्य मन्त्रालयलाई क्षतिको विवरण उपलब्ध गराउन १५ दिनको समयसीमासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस