उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनलाई तिब्रता

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, १७ : ०१
उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनलाई तिब्रता

फाइल फोटो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनलाई तिब्रता दिएको छ । 

महानगरपालिकाले दशैं तिहार लगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरु विक्री वितरण हुन सक्ने अवस्थालाई ध्यान दिदै अनुगमनलाई तिब्रता दिएको हो । महानगरपालिकाले बुधबार काठमाडौंको नक्साल, कालो पुल लगायतका ठाउँमा रहेका मार्टहरुमा अनुगमन गरेको छ । 

अनुगमनका क्रममा नक्साल स्थित बिगमार्टमा केही कमिकमजोरी पाइएकाले सचेत गराइएको अनुगमनमा रहनुभएका महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए । त्यसबाहेक कालोपुलस्थित एक मार्टको गोदाममा करिब १० लाख रुपैयाँ बराबरको म्याद गुज्रिएको सामानहरु राखिएको अवस्थामा फेला परेको उनले बताए ।

उक्त मार्टलाई दुई महिना पहिले पनि सोही सामान राखेको भनी वाणिज्य विभागले कारबाही गरेको पाइएकोले एक साताभित्र विस्तृत विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिइएको उनले बताए । उक्त सामग्रीको व्यवस्थापन छिटो गर्न नसके पुनः कारबाहीको प्रक्रियामा जाने पनि उनले बताए ।

अनुगमनमा सहभागी उपभोक्ताकर्मी माधव तिमल्सिनाले दशैं तिहारजस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरु विक्री वितरणका लागि आएको हुन सक्ने भएकाले अनुगमनलाई तिब्रता दिनुपर्ने बताए । जहाँ म्याद सकिएका समाग्री फेला पर्छ त्यहिं नै नष्ट गर्ने गरी बजार अनुगमन गरिनुपर्ने उनले बताए ।

काठमाडौं महानगरपालिकाले बजार अनुगमनका क्रममा कुनै कैफियत फेला परे वाणिज्य विभागलाई कारबाहीका लागि सिफारिस गर्दै आएको छ । तर निकट भविष्यमै आफ्नै कार्यपविधि, निर्देशिका र नियमावली ल्याई बजार अनुगमनलाई थप प्रभावकारी बनाउन लागिएको महानगरका कृषि विभाग प्रमुख भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस