चितवन विशेष

महानगर प्रमुखको हातबाट कोकाकोला कारखानाको गेटमा स्टीकर टाँस

शुक्रबार, २५ फागुन २०७४, १० : ४२
महानगर प्रमुखको हातबाट कोकाकोला कारखानाको गेटमा स्टीकर टाँस

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले शुक्रबार बिहान भरतपुरस्थित बोटलर्स नेपाल तराई लिमिटेडको गेटमा सेवा, सुरक्षा, सहयोग र उद्धारका लागि सशस्त्र प्रहरी बल लेखिएको फोन नम्बरसहितको स्टीकर टाँस गर्नु भएको छ । चितवन उद्योग संघले आयोजना गरेको स्टीकर टाँस्ने कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनु भएकी दाहालले कोकाकोला कम्पनीका विभिन्न पेय पदार्थ उत्पादन हुँदै आएको कारखानाको  गेटमा संघले सौजन्य गरी प्रकाशित गरेको स्टीकर टाँस गर्नुभएको हो ।

स्टीकर टाँस्नुअघि कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले चितवन जिल्ला औद्योगिक केन्द्र बन्दै गइरहेको बताउनु भयो । उहाँले चितवनलाई आर्थिक राजधानी बनाउने महानगरको र सिंगो चितवनवासीको चाहना रहेको विचार व्यक्त गर्नुभयो । 

विगतमा आन्दोलन र हडतालको कारण उद्योग, धन्दा फस्टाउन सकेनन्, उहाँले भन्नुभयो, अबका दिनमा उद्योगधन्दा, कलकारखाना सुरक्षित छन् भन्ने सन्देश यो कार्यक्रमले दिन खोजेको छ । आगामी दिनमा चितवनलाई आर्थिक राजधानी बनाउने दिशामा स्थानीय सरकार अगाडि बढ्नेछ ।

सशस्त्र प्रहरी बल आँपटारीका सशस्त्र प्रहरी नायब उपरीक्षक सुवर्ण थापा मगरले मन्तव्य व्यक्त गर्दै सेवा, सुरक्षा, सहयोग र उद्धारका लागि सशस्त्र प्रहरी सदैव तत्पर रहेको बताउनु भयो । कार्यक्रम चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस