बुटवलमा ब्यापक सुरक्षाकर्मी परिचालन, विवादकै बीच नेकपा प्रदेश दलको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, ०८ : ५८
बुटवलमा ब्यापक सुरक्षाकर्मी परिचालन, विवादकै बीच नेकपा प्रदेश दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रकै १४ जना प्रदेश सांसदले बुटवलबाट प्रदेश ५ को राजधानी दाङ देउखुरी लैजाने प्रस्तावमा मतदान गर्न नसकिने बताएपछि बिवाद चर्किएको छ । प्रदेश सभामा सरकारको प्रस्तावमा आज दिउँसो बस्ने बैठकमा छलफल हुदैछ ।

सत्तारुढ दल भित्रकै विवादका कारण प्रस्ताव के होला ? अहिल्यै भन्न सकिने अवस्था छैन् । बुटवलका ब्यवसायी, आसपासका नेकपाकै सांसद, प्रमुख प्रतिपक्ष काँग्रेस लगायत नेताहरुको दबाब प्रदेश सरकारले थेग्न सक्ला ? या नसक्ला ? अहिले चासो बढेको छ । सत्तारुढ दल भित्रै बढेको विवाद पछि अहिले बिहान नेकपा प्रदेश सभा संसदीय दलको बैठक बुटबलमा बस्न लागेको छ । शनिबार बसेको दलको बैठकले सरकारले ल्याएको प्रस्तावमा सर्वसम्मर्त निर्णय लिन नसकेपछि आज पून दलको बैठक बस्न लागेको हो ।

नेकपाका रुपन्देही, पाल्पा, गुल्मी लगायतका क्षेत्रका १४ जना प्रदेश सभा सदस्यले सरकारको प्रस्तावमा नोट अफ डिसेन्ट लेखिसकेका छन् । भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, विष्णु पन्थी, युवराज खनाल लगायतले सरकारको प्रस्तावमा पार्टीभित्र भएको छलफलमा नोट अफ डिसेन्ट लेखेका छन् । उनीहरुलाई पार्टी महासचिव विष्णु पौडेलको साथ छ । स्थायी समिति सदस्यहरु टोपबहादुर रायमाझी, गोकर्ण विष्ट लगायतले पनि बुटवलवाट देउखुरी प्रदेश राजधानी लैजाने प्रस्तावमा समर्थन जनाईरहेका छैनन् ।

सोही कारण मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंमा हिजो दिनभर दौडधुप गरेर साँझ पून वुटवल नै फर्किसकेका छन । पोखरेल प्रधानमन्त्री केपी ओली, नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटका लागि भन्दै काठमाडौं आएका थिए । उनले प्रचण्डसँग अलग्गै, ओली र प्रचण्डसँग सामुहिक रुपमा महासचिव पौडेल र कर्णाली प्रदेशका इन्चार्ज जर्नादन शर्मा सहित भेट गरेपनि काँग्रेस सभापति देउवासँग भने भेट गर्न नसकि त्यक्तिकै फर्केका छन् ।

ओली र प्रचण्ड सँगको छलफलमा पनि महासचिव पौडेलले देउखुरी लैजाने प्रस्तावमा असहमति जनाएका थिए । यही कारण पनि त्यहाको बिबाद बल्झिदो छ । बुटवलका ब्यवसायीहरुले देउखुरी राजधानी सारिए आफुहरुले नेकपा त्याग्ने सम्मको चेतावनी दिएका छन् ।

यो बीचमा नेकपाले पार्टीको औपचारिक निर्णय लिन अहिले प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ । बैठक शुरु भईसकेको एक सांसदले बताए । नेकपाका १४ सांसदले पार्टी निर्णय नमानेमा नेकपालाई मात्रै देउखुरीको पक्षमा जनमत जुटाउन ५८ मत पुग्दैन् । तर काँग्रेसका बाँके र दाड क्षेत्रका सांसदहरुले देउखरीको पक्षमा मतदान गर्ने बताईसकेका छन् । त्यस अतिरिक्त ६ सिट रहेको जनता समाजवादी पार्टीका ४ जना सांसदले दाङको पक्षमा मत हाल्ने बताईसकेका छन् । राष्टिय जनमोर्चाको पनि एक सिट प्रदेश सभामा छ ।

काँग्रेस र जसपाले पार्टीमा ह्वीप नलगाएको खण्डमा यो भित्रका मत देउखुरीकै पक्षमा बढी पर्ने देखिएको छ । त्यसो हुँदा देउखुरीको पक्षमा नेकपाकै १४ सांसदले मत नहालेमा पनि सहज दुई तिहाई बहुमत पुग्ने देखिएको छ । यही हिसाबकिताब चलिरहेका बेला नेकपा प्रदेश संसदीय दलको बैठक बुटवलमा शुरु भएको हो । प्रदेश सभामा सुरक्षाकर्मी अहिले ब्यापक मात्रामा परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस