डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै

पत्रपत्रिकाबाट

सोमबार, १९ असोज २०७७, ०८ : २२
डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै

काठमाडौं । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बनेको छ । चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् ।

 उनलाई आइतबार दिउँसो ११ बजे सास फेर्न असजिलो भएपछि फेस मास्कको माध्यमबाट प्रतिमिनेट ४ देखि ६ लिटरसम्म अक्सिजन दिइएको छ । सास फेर्न गाह्रो भएको बेला एसपी ओटू (अक्सिजनको स्तर) घटेर ९०–९१ प्रतिशत भएपछि अक्सिजन दिन थालिएको हो ।

सास फेर्न असजिलो हुने, अक्सिजन आवश्यक पर्ने र बेलाबेला मुटुको चालमा गडबडी हुने अवस्थालाई हेरेर आईसीयूमा भर्ना हुन सल्लाह दिँदा भने डा. केसीले अस्वीकार गरेको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डा. सुवासप्रसाद आचार्यले भने । ‘कुनै पनि व्यक्तिको होस रहुन्जेल जतिसुकै राम्रो नियत भए पनि चिकित्सकले बलजफ्ती गर्न मिल्दैन । होस नभएको स्थितिमा मात्र आफ्नो निर्णय लिन सकिन्छ,’ उनले भने ।

१९ औं सत्याग्रहमा रहेका डा. केसीको बीचबीचमा मुटुको तीव्र धड्कन हुने समस्या देखिएको छ । छाती, मांसपेशी दुख्ने र बाउँडिने, चक्कर लाग्ने जस्ता स्वास्थ्य समस्या पनि बढेका छन् । पछिल्लो रगत परीक्षणअनुसार ब्लड सुगर धेरै कम छ । सिरम इलेक्ट्रोलाइट्स (सोडियम पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फस्फोरस) कमी देखिएको छ । शरीरमा पोटासियम र म्याग्नेसियमको स्तर कम हुँदा मुटुको चालमा, सोडियम र क्याल्सियम कम भए मस्तिष्कमा असर परी होस कम, छारे हुन सक्ने डा। आचार्यले बताए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस