कोरोना अपडेट

कोरोना संक्रमणबाट विश्वभर १० लाख ३८ हजार व्यक्तिको मृत्यु

एजेन्सी

आइतबार, १८ असोज २०७७, १५ : ३४
कोरोना संक्रमणबाट विश्वभर १० लाख ३८ हजार व्यक्तिको मृत्यु

फाइल फोटो

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख  ४० हजार भन्दा बढी पुगेको छ  । कूल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजार भन्दा बढी मानिस सक्रिय सङ्क्रमित छन् । 

विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ ।  कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । 

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ । आजसम्म प्राप्त समाचारअनुसार भारतमा ६५ लाख ४९ हजार भन्दा बढीलाई  कोरोना भाइरस सङ्क्रमण भएको र यस सङ्क्रमणबाट एक लाख १ हजार ९६० जनाको मृत्यु भईसकेको छ । 

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४६ हजारको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ४ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार २५१ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।  

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रुपमा रहेको केही दिन अगाडी एकै दिनमा  २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको थियो 

 युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस