५० हजार भूकम्पपीडितको ५ अर्ब वितरण रोकियो

पत्रपत्रिकाबाट

आइतबार, १८ असोज २०७७, ०८ : ३०
५० हजार भूकम्पपीडितको ५ अर्ब वितरण रोकियो

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ स्थित भीमटारका राजेन्द्र दंगालको घर भूकम्पमा भत्कियो । सरकारले खटाएका प्राविधिक आएर परीक्षण गरिदेलान् भनेर निकै समय बाटो हेरे । नआएपछि आफैं घर ठड्याए । तत्काल बासको खाँचो टर्‍यो ।

‘घर भत्किएपछि बस्ने बास त चाहियो,’ उनले भने, ‘वडासँग समन्वय गरेर घर बनाएँ । ढिलो गरी प्राविधिक आएर हेरे, मापदण्ड पुगेन भने । प्राविधिकको सल्लाहअनुसार घरमा नपुगेका कुरा थपेर त्यसलाई भूकम्पप्रतिरोधी पनि बनाएँ ।’ प्राविधिकै सिफारिसमा उनले पहिलो किस्ता बुझे । तर उनले दोस्रो किस्ता अझै पाउन सकेका छैनन् ।

‘घर बनाउनेलाई मात्र किस्ता पाउन गाह्रो भयो,’ उनले भने, ‘पाउनलाई पनि सोर्स लगाउनुपर्ने रहेछ ।’ यस्तो समस्या दंगालको मात्र होइन । करिब ५० हजार भूकम्पपीडितले घर बनाएर पनि रकम पाउन सकेका छैनन् । 

साउनदेखि निजी आवास निर्माणका लागि अनुदान वितरण भएको छैन । करिब ५ अर्ब रकम वितरण रोकिएको हो । भूकम्पपीडितले घर बनाइसके पनि अझै रकम बुझ्न पाएका छैनन् । साढे दुई महिनादेखि रकम नपाएपछि पीडित र जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दैनिकजसो फोन गरेर गुनासो गरेको गर्‍यै छन् ।

प्रभावित ३२ वटै जिल्लामा यति बेला रकम वितरण हुन सकेको छैन । प्राधिकरणका अनुसार महालेखा नियन्त्रक कार्यालयले सिस्टम ९प्रणाली० अपग्रेड गर्न खोज्दा यस्तो समस्या भएको हो । कान्तिपुरमा खबर छ ।