सतर्कता नअपनाए ८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमणको जोखिममा

पत्रपत्रिकाबाट

आइतबार, १८ असोज २०७७, ०७ : ५०
सतर्कता नअपनाए ८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमणको जोखिममा

काठमाडौं । सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै गइरहेको विज्ञहरूले बताएका छन् ।

निजामती, शिक्षक, सेना, प्रहरी तथा विभिन्न सार्वजनिक संस्थानमा गरी ५ लाखभन्दा बढी राष्ट्रसेवक कर्मचारीहरू रहेका छन् । यीमध्ये सबैभन्दा बढी प्रभावित प्रहरी, सेना र निजामतीतर्फ हुने विज्ञहरूको भनाइ छ ।

शनिबार मात्रै प्रधानमन्त्रीका सल्लाहकार टिममा रहेका चार जनालगायत बालुवाटारको सुरक्षामा खटिएका बहुसंख्यक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारी निकायहरू नै उच्च जोखिममा रहेको देखिएको हो । अहिले पनि कतिपय मन्त्रालयका सहसचिव, प्रहरी र सेनाका उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीहरू कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसिरहेका छन् ।

कोरोना संक्रमणको उद्गम मानिएको चीनको उहानबाट फर्र्किएका नेपाली विशेषज्ञ डा. रमेशकुमार आचार्यले सरकारी निकायले उच्च सुरक्षा सतर्कता नअपनाउने हो भने अबको डेढ महिनाभित्र ८० प्रतिशतभन्दा बढी सरकारी कर्मचारी तथा उच्च पदस्थहरूमा कोरोना संक्रमण हुने दाबी गरेका छन् ।

कोरोनाबारे अध्ययन अनुसन्धान गर्दै आइरहेका वरिष्ठ चिकित्सक डा। आचार्यले सिंहदरबारस्थित मन्त्रालयहरू, प्रधानमन्त्री निवास बालुवाटार, मन्त्रीनिवास पुल्चोकलगायत सरकारी निकायले सुरक्षाका महत्वपूर्ण विधिहरू अपनाउन नसकेकाले कर्मचारीहरू संक्रमणको मारमा पर्ने क्रम वृद्धि हुँदै गएको बताए । उनले सरकारका सबै कार्यालय र निकायमा दिनमा एक पटक अनिवार्य रूपमा ‘डिस्इन्फेक्टेन्ट’ गर्नुपर्ने आवश्यकता औल्याए ।

यसैगरी, डा। आचार्यका अनुसार सरकारका सम्पूर्ण निकायमा कार्यरत सुरक्षाकर्मी, चालक, सुरक्षागार्ड, खाना भकाउने भान्छेलाई अनिवार्य रूपमा पीपीईको व्यवस्था गर्नुपर्छ । यस्तै संक्रमण न्यूनीकरण गर्न सबै सरकारी कार्यालय र क्वार्टरभित्रका बाथरुम, फोनसेट, रिमोट कन्ट्रोल, प्लास्टिकका भाडाहरू, तरकारी बोक्ने झोलाहरू, पानी खाने सिसाका गिलासहरू, सरकारी एम्बुलेन्स, गाडीहरू तथा सरकारी भवनहरूमा ०।५ प्रतिशत सोडियम हाइपोक्लोराइड र ७० प्रतिशत इथानोलले प्रत्येक दिन पूर्ण रूपमा सफा गर्नुपर्ने सुझाव डा. आचार्यको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस