पत्रकार खशोग्जीको हत्या भएको २ वर्ष पुरा, अझै रहस्यमयी

एजेन्सी

शनिबार, १७ असोज २०७७, ०९ : २९
पत्रकार खशोग्जीको हत्या भएको २ वर्ष पुरा, अझै रहस्यमयी

एजेन्सी । साउदी अरेबियाका पत्रकार जमाल खशोग्जीको हत्या भएको शुक्रवार २ वर्ष पुगेको छ । साउदी अरबको टर्कीस्थित कन्सुलेट कार्यालयमा उनको हत्या भएको थियो ।

वाशिंगटन पोस्टका ५९ वर्षका स्तम्भकार खशोग्जी सन् २०१८ अक्टोबर २ मा मारिएका थिए । उनी आफ्नो दोस्रो विवाहका लागि कागजी काम लिएर कन्सुलेट कार्यालयमा छिरेका थिए । उनी त्यहाँबाट फर्किएनन् । टर्कीका अधिकारीहरूले उनको शरीर टुक्रा टुक्रा पारेर कहीं कतै गाडिएको हुनसक्ने आशंका गरेका छन् ।

मानवाधिकारवादीहरूले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले योजनाबद्ध रूपमा खशोग्जीको हत्या गरेको आरोप लगाइरहेका छन् ।

अमेरिकी गुप्तचर संस्था सीआइएले राजकुमार सलमानले नै खशोग्जीको हत्या गर्न लगाएको बताएको थियो । तर साउदी सरकारले त्यसको खण्डन गरेको छ ।

गतसालको जुन १९ मा प्रकाशित एक खोजी रिपोर्टमा एग्नेस कालामार्ड ९जो संयुक्त राष्ट्रसंघका अतिरिक्त न्यायिक विशेषज्ञ पनि हुन्०ले साउदी अरबका राजकुमार सलमान र अन्य वरिष्ठ अधिकारीहरू हत्यामा संलग्न भएको विश्वसनीय प्रमाण प्राप्त भएको उल्लेख गरेकी थिइन् ।

गत सालकै सेप्टेम्बरमा साउदी अरब सरकारका प्रमुख अधिवक्ताले फैसला सुनाउँदै ८ जनालाई दोषी देखाएका थिए । ८ जनाविरुद्ध चलेको मुद्दामा ५ जनालाई २० वर्षको जेल सजाय, १ जनालाई १० र बाँकी २ जनालाई ७ वर्षको जेल सजाय सुनाइएको थियो ।

खशोग्जीको मृत शरीर नभेटिनु र हत्यामा साउदी अरबका राजकुमारको संलग्नताको चर्चा हुनुले घटना २ वर्षसम्म पनि रहस्यमयी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस