हार्दिक श्रद्धाञ्जली

अल्पायुमै अस्ताए कर्णालीका भरोसा डा. सापकोटा

पत्रपत्रिकाबाट

शुक्रबार, १६ असोज २०७७, ११ : ४८
अल्पायुमै अस्ताए कर्णालीका भरोसा डा. सापकोटा

वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरिप्रसाद सापकोटा ।

सुर्खेत । उनको चाहना कर्मथलो सुर्खेतमा हाडजोर्नी विशेषज्ञ हस्पिटल खोल्ने थियो । अर्को सपना पनि थियो, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रोफेसर भएर सेवा गर्ने । तर उनीसँगै उनको सपना पनि विलय भएको छ । कर्णालीवासीले एक भरोसायोग्य डाक्टर गुमाएका छन् ।

हाडजोर्नीको समस्या देखिनासाथ कर्णालीवासीले सबैभन्दा पहिला सम्झिने नाम थियो डा. हरिप्रसाद सापकोटा । बच्चादेखि वृद्धसम्म उनको नाम नलिने र उनको उपचारले निको नभएका कर्णालीमा कमै होलान् । उनको योगदानबाट र शालीन व्यवहारबाट नलोभिएको सायदै कोही थिए ।

कामप्रतिको लगाव, बिरामीप्रतिको नम्र व्यवहारले गर्दा कर्णाली मात्र होइन प्रदेश ५ र सुदूरपश्चिम प्रदेशवासीका लागि पनि उनी भरपर्दा डाक्टरका रूपमा परिचित थिए । ‘उहाँको निधनले हाम्रो अस्पतालले मात्र होइन, सिंगो कर्णालीले भरोसायोग्य डाक्टर गुमाएको छ,’ कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘सिनियर चिकित्सकहरू कर्णालीमा बस्न नरुचाउने अवस्थामा समेत उहाँले यहीं बसेर अस्पतालको विकासमा टेवा पुर्‍याउनुभएको थियो ।’

कर्णाली प्रदेश अस्पतालमा करिब डेढ दशकदेखि कार्यरत वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटाको कोरोना संक्रमणका कारण निधन भएको हो । ५९ वर्षीय उनको बिहीबार बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बाँकेको खजुरा गाउँपालिका–३ निवासी डा. सापकोटाले केही वर्षअघि आफ्नी श्रीमती पनि गुमाएका थिए । उनका एक छोरा र एक छोरी छन् । हाडजोर्नीसम्बन्धी विशेषज्ञता हासिल गरेपछि करिब दुई वर्ष भेरी अस्पतालमा काम गरेका उनले त्यसपश्चात् सुर्खेतलाई नै आफ्नो कर्मथलो बनाए ।

स्वर्गीय डा. सापकोटालाई सलामी दिँदै नेपाली सेना ।

उनीसँगै एउटै विभागमा रहेर काम गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा. मंगल रावलले डा. सापकोटाको निधनले कर्णालीको स्वास्थ्य क्षेत्रमा अतुलनीय क्षति पुगेको बताए । ‘मलाई पत्याउनै गाह्रो भएको छ,’ उनले भने, ‘उहाँको काम र व्यवहारबारे चर्चा गरेर कहिल्यै सकिँदैन, सबैलाई सम्मान गर्ने र कामप्रतिको लगावबाट म पनि निकै प्रभावित भएको थिएँ ।’

डा. सापकोटाले सुर्खेतमै हाडजोर्नीसम्बन्धी हस्पिटल खोल्ने सपना बुनेको पनि डा. रावलले बताए । ‘मेरो केही ठाउँमा जग्गा छ, त्यसैमा हस्पिटल खोल्ने भन्नुभएको थियो,’ उनले भने, ‘हामीलाई पनि काम गर्न आउनुपर्छ है भन्नुहुन्थ्यो तर आफैं कहिल्यै नफर्किने गरी जानुभयो ।’ डा. रावलका अनुसार प्रतिष्ठानले डा. सापकोटालाई प्रोफेसर पनि दिलाएको थियो ।

गत भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएका डा. सापकोटाको स्वास्थ्यमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । मधुमेह र उच्च रक्तचापका दीर्घरोगीसमेत रहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबार भेन्टिलेटरमा राखिएको थियो । अन्ततः उपचारकै क्रममा उनको निधन भयो ।

भेरी अस्पताल, नेपालगन्जमा दरबन्दी रहेका डा. सापकोटा काजमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत थिए । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक चिकित्सकको निधन भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।

(यो खबर कान्तिपुर दैनिकका लागि सुर्खेतबाट चाँदनी कठायतले लेखेकी हुन् ।)

प्रतिक्रिया दिनुहोस