प्रतिकेजी ७० मा चिनी, १८ मा नुन, साल्ट ट्रेडिङ चितवनले लगायो उपभोक्तालाई गुन

प्रकाश सिग्देल

विहीबार, १५ असोज २०७७, १४ : ४२
प्रतिकेजी ७० मा चिनी, १८ मा नुन, साल्ट ट्रेडिङ चितवनले लगायो उपभोक्तालाई गुन

चितवन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । आज १५ गतेदेखि मंसिर ६ गतेसम्म सञ्चालनमा रहने गरी सपथ मूल्य पसल सञ्चालन गरिएको कार्यालय प्रमुख बुद्धि बिनोद दाहालले बताए । 

सुपथ मूल्यको पसलमा चिनी प्रतिकेजी ७० र आयोनुन प्रतिकेजी १८ का दरले बिक्री भएको छ । यस पटक विगतमा भन्दा प्रतिकेजी २ रुपैयाँ सस्तोमा चिनी बिक्री भएको दाहाल बताउनु हुन्छ । गत वर्ष प्रतिकेजी ७२ रुपैयाँमा बिक्री भएकोमा यस पटक ७० रुपैयाँमा बिक्री गरिएको छ ।चिनीको बजार मूल्य प्रतिकेजी ८० रुपैयाँ रहेको छ । उपभोक्ताले प्रति व्यक्ति नुन ४ केजी र चिनी ४ केजीसम्म किन्न पाउने छन् भने अन्य सामान उपभोक्ताले आवश्यकता अनुसार खरिद गर्न पाउने दाहाल बताउनु हुन्छ । कार्यालयमा अहिले ग्राहकको निकै भिड लागेको छ । 

सस्तोमा नुन, चिनी बिक्री भएको भन्ने सुनेर सामान किन्न आएको गैंडाकोटका कमल नेपालले बताए । आफूहरुले यस पटक ईन्डक्सन चुलो पनि विक्री गर्न लागेको र दुई प्रकारका चुलो विक्रीमा राखिएको दाहालको भनाइ छ । ग्राहकले आफ्नो घरकै भाडामा पकाउन मिल्ने चुलोको मूल्य ३५ सय कायम गरिएको र भाडो पनि किन्नु पर्ने चुलोको मूल्य २६५० तोकिएको दाहाल बताउनु हुन्छ । 

सुपथ मूल्यको पसलमा नुन, चिनी बाहेक चामल, गेडागुडी, पिठो, मसला, चियापत्ति पनि विक्रीका लागि राखिएको छ । त्यसको मूल्य भने अहिले कायम नभएकोे ग्राहकले नुन र चिनीमात्रै खरिद गरेका छन् ।

कार्यालयले हरेक वर्ष नेपालीहरुको चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कोरोना भाइरस (कोभिड–१९) को विश्व माहामारीका  बाबजुत पनि उपभोक्तालाई सेवा दिन आफूहरुले सुरक्षा सावधानीसहित पसल सञ्चालनमा ल्याएको दाहालको भनाइ छ । 

यो सँगै कार्यालयले किसानका लागि कृषि मल पनि विक्री गरिरहेको छ । गत वर्ष सुपथ मूल्य पसलबाट चिनी ६४ लाख २४ हजार १२८ रुपैयाँको ८९ हजार २२४ केजी, ८ लाख २३ हजार ३७४ रुपैयाँको ४५ हजार ७४३ केजी नुन र अन्य सामानको २८ लाख १७ हजार १५३ रुपैयाँ गरी १ करोड ६४ हजार ६५५ रुपैयाँ बराबरको सामान विक्री भएको दाहालको भनाइ छ । त्यस्तै घुम्ति सेवाबाट पनि १० लाख ४१ हजार ९१२ रुपैयाँ मूल्य बराबरको सामान कारोबार भएको दाहाल बताउनु हुन्छ । कर्पोरेशनले यसभन्दा पहिला पनि कठिन समयमा सहज रुपमा नुन, चिनी लगायत अत्यावश्यक खाद्य वस्तुको अभाव हुन नदिएको दाहालको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस