विद्यालयको बिजोग

पाँच दशक पुरानो विद्यालयले पाएन गुहार, फेरिएन मुहार

सूर्यप्रकाश कँडेल

बुधबार, १४ असोज २०७७, १४ : ३५
पाँच दशक पुरानो विद्यालयले पाएन गुहार, फेरिएन मुहार

तस्वीरहरु : सूर्यप्रकाश कँडेल

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ सानो यज्ञपुरीमा रहेको राष्ट्रिय आधारभुत विद्यालय पाँच वर्षअघिको महाभूकम्पमा थिलोथिलो भयो । पाँच दशक पुरानो भवन त भत्किएन तर भित्ता चर्किए, छत उप्किएर ठाउँठाउँमा डण्डी देखिए । टालटुल गरेर जसोतसो काम चलाइएको थियो । यसपालिको पराकम्पले पुनः विद्यालयका छत र भित्ता चर्किएका छन् । कमजोर विद्यालयले गुहार मागिरहेछ मुहार फेर्नका लागि ।

२०१९ सालमा स्थापना भएको यस विद्यालयमा गत शैक्षिक सत्रमा ६० विद्यार्थी अध्ययनरत थिए । यसवर्ष कोरोना संक्रमणको डरले विद्यालयमा पढाई नभएपनि एक सय ३८ जना विद्यार्थी भर्ना भएर वैकल्पिक शिक्षा लिइरहेको विद्यालय संचालक समितिका अध्यक्ष टिकाराम सापकोटा बताउँछन् । यस विद्यालयमा प्ले ग्रुप (मन्टेश्वरी) देखि पाँच कक्षासम्म पढाई हुँदै आएको छ । 

दुई महिना अघिसम्म वडा नम्बर ४ को सामुदायिक क्वारेन्टिनका रुपमा रहेको विद्यालयमा अहिले सरसफाई गरी रंगरोगन गरिएको छ । क्वारेन्टिन हटाएर सरसफाई र रंगरोगन गरेपछि आएको पराकम्पले विद्यालयको छत र भित्ता चर्किएको अध्यक्ष सापकोटाले जानकारी दिए । उनका अनुसार विद्यालयको नाममा एक बिघा दुई धुर जग्गा रहेको छ ।

‘गरिबका छोराछोरीलाई प्ले ग्रुपमा मन्टेश्वरी शिक्षा दिइरहेका छौँ’ अध्यक्ष सापकोटा भन्छन्, ‘२०२६ सालमा बनेको पुरानो भवन निकै कमजोर भइसकेको छ । नयाँ भवन बनाउनु पर्छ । भरतपुर महानगरपालिकाबाट आवश्यक बजेट प्राप्त नहुँदा विद्यालय बिजोग अवस्थामा पुगेको छ ।’ 

प्ले ग्रुप सञ्चालन गरेर मन्टेश्वरी शैलीमा विद्यार्थीलाई पढाएको वरपर रहेका केही निजी विद्यालयको आँखामा बिझेको उनी बताउँछन् । स्थानीय सरकारले नयाँ विद्यालय भवन निर्माण गरी आवश्यक दरबन्दी थप गर्ने हो भने निजी विद्यालयभन्दा राम्रोसँग शिक्षा दिन सक्ने सापकोटाको दाबी छ ।

भरतपुर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य पुरानो भवन जीर्ण भइसकेकोले अब चारकोठे नयाँ भवन बनाउन पहल भइरहेको बताउँछन् । ‘परार एक लाख खर्च गरेर मर्मत गरियो, अहिले उस्तै भयो । विद्यालय खुलेपछि पनि कक्षाभित्र बच्चा राखेर पढाउन जोखिम छ’ उनले भने, ‘नयाँ भवनको लागि पहल भइरहेको छ । मेयर साबसँग कुरा गरेको छु । विद्यालयसँग प्रशस्त जग्गा छ । अब पुरानो भवन भत्काएर नयाँ बनाउनुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस