दिनहुँ ७ जनाको बलात्कार, चैतयता १२२१ बलात्कृत

पत्रपत्रिकाबाट

बुधबार, १४ असोज २०७७, ०७ : ४०
दिनहुँ ७ जनाको बलात्कार, चैतयता १२२१ बलात्कृत

काठमाडौँ । बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको शव असोज ७ गते स्थानीय शिवमन्दिर नजिकै फेला पर्‍यो । घटना भएकै दिन खिकालाकै राजेन्द्र बोहरा पक्राउ परे । सम्झनालाई बलात्कार र त्यसपछि हत्या बोहराले गरेको दाबी प्रहरीले गर्दै आएको छ । बोहराले आरोप स्विकारेका छैनन् । शव अझै जिल्ला अस्पतालमा छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया संगीता मण्डलमाथि गत भदौ २९ गते सामूहिक बलात्कार भयो । पीडित युवती परिवारको सहयोगमा उजुरी दिन प्रहरीमा जान खोजिन् । तर पञ्चायती ९कचहरी० बसी युवतीलाई पैसा दिएर घटना सामसुम पार्न खोजियो । पञ्चायती बसेको जानकारी भए पनि प्रहरीले देखेको नदेखै गर्‍यो । उजुरी दिनसमेत नपाएकी किशोरीले आत्महत्या गरिन् ।

धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरकी १५ वर्षीया किशोरी गत भदौ १ मा धनुषाधामको नौ सय बिघास्थित दिदीको घरबाट फर्किने क्रममा धर्मपुरमा युवाको समूहबाट बलात्कृत भइन् । परिवारको सहयोगमा किशोरीले प्रहरीमा उजुरी दिन खोज्दा पञ्चायती राखेर केस सामसुम गर्न खोजियो । पीडित र परिवारले मानेनन् । आरोपितमध्येका एक विजय यादवका बाबु सत्यनारायणले १२ लाख दिने भन्दै किशोरी र परिवारलाई ज्यान मार्नेसम्मको धम्की दिए । तर पीडितले प्रलोभन अस्वीकार गर्दै प्रहरीमा जाहेरी दिइन् ।

बर्दियाको राजापुर नगरपालिकाकी विवाहित युवतीले आफूलाई बलात्कार र आफ्नी बहिनीलाई यौनदुर्व्यवहार गरेको आरोप लगाउँदै कैलालीस्थित नेपाल–भारत सीमा क्षेत्र श्रीलंका गाउँमा तैनाथ सशस्त्र प्रहरी जवानविरुद्ध आइतबार स्थानीय वडा कार्यालयमा उजुरी दिइन् । जघन्य आरोपसँग सम्बन्धित उजुरी अझै प्रहरीमा दर्ता भएको छैन । गम्भीर किसिमका अपराध र आरोपसम्बन्धी उजुरी पीडितले नदिए पनि प्रहरी आफैंले दर्ता गरेर अनुसन्धान गर्न सक्छ ।

यी चारवटै अपराध पछिल्लो समय चर्चामा आएका घटना हुन् । बझाङको हत्या घटनाले २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याकै झल्को दिएको छ । सतहमा आएका बाहेक पनि बलात्कारका घटना दिनहुँजसो भइरहेको प्रहरीले जनाएको छ । अधिकांश घटना चिनेजानेकै व्यक्तिबाट हुने गरेको पाइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।