खेर जाने कागजबाट अण्डा राख्ने क्रेट

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, १३ : ३६
खेर जाने कागजबाट अण्डा राख्ने क्रेट

photo : Surya Prakash Kandel

स्याङ्जा । हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा फाल्छौं । त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वातावरण प्रदुषण गर्छ । तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डा राख्ने क्रेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन् ।

खेर जाने कागजको सदुपयोग गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिकामा महिलाहरु राम्रो आम्दानी गरिरहेका छन् । नगरपालिकाको वडा नम्बर ३ मा क्वालिटी प्याकेजिङ प्राली नामको कम्पनी स्थापना गरेर महिलाहरु फालिने कागज, कार्टुनलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी क्रेट उत्पादन गरिरहेका छन् । स्थानीय ३ जना महिलाहरुले झण्डै डेढ करोडको लगानीमा क्रेट उद्योग संचालनमा ल्याएका हुन् । 

जिल्लामा कुखुरापालन फार्महरु बढेसँगै क्रेटको माग बढेकाले उद्योग संचालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक लेखनाथ शर्माले बताए । उद्योगले अहिले प्रतिदिन १० हजार क्रेट उत्पादन गरिरहेको छ  । उत्पादित क्रेट स्याङ्जाका पोल्ट्री फार्मसँगै, पोखरा, बाग्लुङ, लम्जुङसम्म बिक्री हुने गरेको छ । 

ग्रामीण क्षेत्रमा उद्योग सञ्चालन गर्दा सरकारी क्षेत्रबाट कुनै सहयोग नभएपछि कच्चापदार्थ ढुवानीका लागि सडक र उद्योग सञ्चालनका लागि विद्युत आपूर्तिको व्यवस्था समेत आफैले गर्नुपरेको उनले बताए ।

कागज, किताब, कापी, पत्रिका, कार्टुन लगायत कागजी सामग्रीलाई प्रशोधन गरी क्रेट बनाइन्छ । पानी र कागजलाई मिलाएर मेशिनमा राखेपछि मेशिनले क्रेट तयार पार्दछ । घाममा सुकाएपछि क्रेट बिक्रीको लागि तयार हुन्छ । 

कम्पनीले फालिने कागजहरु घरघर मै गएर किन्ने गरेको छ । प्रयोगमा आएका कागजजन्य बस्तुहरु फाल्न फोहोरको ट्याक्टर कुर्नेहरु अहिले त्यही कागज बिक्री गर्ने गरिएको स्थानीय व्यवसायीहरु बताउँछन् । 

कम्पनीले कागजको गुणस्तर हेरी प्रतिकिलो १५ देखि २५ रुपैंयासम्ममा खरिद गरिरहेको छ । फालिने कागजबाट क्रेट उत्पादन गर्ने उदाहरणीय काम गरेका महिला उद्यमीहरुले कोरोनाकालमा पनि ११ महिला सहित १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस