साउनमा सिमेन्ट आयात ८५ प्रतिशत बढ्यो

पत्रपत्रिकाबाट

मंगलबार, १३ असोज २०७७, ०८ : २३
साउनमा सिमेन्ट आयात ८५ प्रतिशत बढ्यो

काठमाडौं । मुलुक सिमेन्टमा आत्मनिर्भर भएको दावी गरिए पनि चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा भने सिमेन्ट तथा क्लिंकर आयात ह्वात्तै बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा ५२ करोड ८६ लाख रुपैयाँ बराबरको सिमेन्ट भित्रिएको छ । यो तथ्यांक अघिल्लो वर्षको साउन महिनाको तुलनामा ८४.३ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको साउनमा २८ करोड ६९ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर भित्रिएको थियो । उक्त वर्ष सोभन्दा अघिल्लो वर्ष ८०.२ प्रतिशत कम मूल्य बराबरको सिमेन्ट भित्रिएको थियो । २०७५ साउनमा भने १ अर्ब ४५ करोडको सिमेन्ट तथा क्लिंकर भित्रिएको तथ्यांक छ ।

नेपालमा हाल चार दर्जनभन्दा बढी सिमेन्ट उद्योग भए पनि भारतीय क्लिंकर तथा सिमेन्टप्रतिको निर्भरता भने अन्त्य हुन सकेको छैन । भारतीय लगानीमा सञ्चालित ठूला परियोजनाले भारतबाटै सिमेन्ट ल्याउने गरेका छन् । नेपालमा आयात हुने सिमेन्टमध्ये सबैजसो भारतबाटै आयात हुने गरेको छ ।

सिमेन्ट उत्पादकहरुका अनुसार लकडाउनका कारण नेपाली उद्योग बन्द हुँदा भारतबाट आयात बढेको हो । स्वदशी उद्योग सञ्चालका लागि सरकारले सहजीकरण गर्न नसक्दा सिमेन्ट आयात गर्नुपरेको उनीहरुको दावी छ । 

नेपाली उद्याृग आत्मनिभर भइसके पनि सरकारले पर्याप्त सहयोग नगर्दा आयातका नाउँमा बर्सेनि अर्बौं रुपैयाँ बिदेशिएको उनीहरुको भनाइ छ । नेपाली सिमेन्ट उद्योगले हाल गुणस्तरीय उत्पादन गर्न थालेकाले भारत वा अन्य मुलुकबाट आयातको आवश्यकता नरहेको दावी गर्दै आएका छन् । कारोवार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस