चितवनको माडीमा सशस्त्र प्रहरीको दुई बिओपी स्थापना

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, ०९ : ५३
चितवनको माडीमा सशस्त्र प्रहरीको दुई बिओपी स्थापना

चितवन । भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि चितवनमा थप दुई बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । थप गरिएको बिओपी माडी नगरपालिका–९ को कान्छी बगई र वडा नं १ को भङ्गटामा स्थापना गरिएको छ । 

सशस्त्र बल नम्बर तीन गढिमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले आज सोमबार बिओपीको उद्घाटन गर्दै आगामी दिनमा सीमा सुरक्षा थप मजबुत बन्ने बताए।

उनले भने, “एउटा बिओपीले लामो दूरीको सुरक्षा दिनुपर्ने बाध्यता हटेको छ, सीमा रक्षामा थप कटिबद्ध हुन प्रेरित गरेको छ ।” यसअघि चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बिओपी पोष्ट थिए । थपिएका दुई सँगै पाँच पोष्ट पुगेको छ ।

माडीमै थप एक पोष्ट स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। यसअघि बाँदरझुला, छरछरे र बाल्मिकी आश्रममा सशस्त्रका अस्थायी पोष्ट रहेको उनले बताए।

सशस्त्र प्रहरी बल १७ नं गणका प्रहरी उपरीक्षक दीपककुमार थापाले नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना भएको बताए। सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि दुई वटा बिओपी थपेको हो।
 

प्रतिक्रिया दिनुहोस