आईपिएल : पन्जाबका कप्तान केएल राहुलको किर्तिमानी स्कोरसँगै बेंग्लोर पराजित

एजेन्सी

शुक्रबार, ०९ असोज २०७७, ०९ : ०८
आईपिएल : पन्जाबका कप्तान केएल राहुलको किर्तिमानी स्कोरसँगै बेंग्लोर पराजित

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पन्जाबका कप्तान केएल राहुलको कीर्तिमानी शतकमा  रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनको विशाल स्कोरले पराजित गरेको छ ।

रोयल च्यालेन्जर्सविरुद्ध किंग्स इलेभेन पन्जाबका कप्तान केएल राहुलले १३२ रन बनाए । यो विशाल व्यक्तिगत स्कोरसँगै आईपीएल इतिहासमा उनी सर्वाधिक स्कोर बनाउने कप्तान बनेका छन् । टस हारेपछि ब्याटिङ निम्तो पाएको पन्जाबले दुबई अन्तर्राष्ट्रिय रंगशालामा  ३ विकेट गुमाई २ सय ६ रन बनायो । जवाफमा बेंग्लोर १७ ओभरमा १ सय ९ रनमा अलआउट भयो ।

१७ र १८ औं ओभरमा दुवै पटक बेंग्लोरका कप्तान विराट कोहलीले क्याच छाडेको भरपुर फाइदा उठाउँदै राहुलले करुण नैरसँग अन्तिम २८ बलमा ७८ रन जोडेका थिए । त्यसमा नैरको योगदान ८ बलमा दुई चौकासहित अविजित १५ रन थियो । यी दुईले अन्तिम दुई ओभरमा मात्रै ४९ रन जोडेका थिए । कोहलीले ८५ र ८९ रनमा हुँदा राहुलको क्याच छाडेका थिए ।

राहुलले १९ औं ओभरमा डेल स्टेयनलाई ३ छक्का र २ चौका गरी २६ रन प्रहार गरे ।  राहुलले आफूले सामना गरेको अन्तिम ९ बलमा ४२ रन जोडे, त्यसमा ५ छक्का र तीन चौका थियो । कप्तानको रूपमा राहुलको यो स्कोर आईपीएलकै ठूलो हो । राहुलले ६९ बलको इनिङ्समा १४ चौका र ७ छक्का प्रहार गरे । उनले मायंक अग्रवालसँग पहिलो विकेटमा ७ ओभरमा ५७ रन जोडेका थिए । 

रवि विष्णोइ र मुरुगान अश्विनले समान ३ विकेट लिएपछि बेंग्लोर पराजित हुन पुग्यो । सेल्डोन कोटरेलले सुरुआतमा देवदत्त पाडिक्कल र कोहलीलाई समान १ रनमा आउट गरे । मोहम्मद सामीले जोस फिलिप्सलाई शून्यमा एलबीडब्लू आउट गरेपछि बेंग्लोर ३ ओभरमा ३ विकेट गुमाई ५ रनको अवस्थामा थियो । बेंग्लोरबाट ओपनर आरोन फिन्च २०, एबी डी भिलियर्सले २८, वासिङ्टन सुन्दरले ३२ र दुबेले १२ रन बनाए ।


 

प्रतिक्रिया दिनुहोस