ब्याक अफ चाइना भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, ०७ असोज २०७७, १२ : १८
ब्याक अफ चाइना भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका-६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको छ । तर चिनियाँ सेनाले भने भवन निर्माण भएको भूमि चीनकै भएको बताएको छ ।

प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ ।

यस्तै नेपालस्थित चिनियाँ दुतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल र चीनका बीचमा समीमा विवाद नरहेको बताएको छ । त्यस ठाउँको सन्र्दभमा नेपालले आफ्नो तर्फबाट प्रमाणित गर्न सक्ने भन्दै दुतावासले भनेको छ  ‘चीन र नेपाल मित्रवत छिमेकी हुन् । चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ । मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ ।’

नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ,’ दुतावासले वक्तब्यमार्फत भनेको छ,– चीन र नेपालबीच सीमा विवाद छैन । दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन् ।’

प्रतिक्रिया दिनुहोस