प्रधानसम्पादक अधिकारीलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, १५ : ४७
प्रधानसम्पादक अधिकारीलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

काठमाडौँ । भिजन मिडिया नेटवर्कका अध्यक्ष तथा सफल खबरका प्रधान सम्पादक सुरेशचन्द्र अधिकारीले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार पाएका छन् । भिजन मिडिया नेटवर्कले सफल खबर डट कम र सफल खबर अनलाइन टेलिभिजन सञ्चालन गरेको छ ।

काठमाडौँमा मंगलबार आयोजित प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा अध्यक्ष अधिकारी पुरस्कृत भएका हुन् । उनलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सम्मानपत्र र पुरस्कार राशि प्रदान गरेका थिए ।

दुई दशकदेखि पत्रकारितामा कृयाशील अधिकारी चुरे सन्देश साप्ताहिकको प्रधान सम्पादक समेत हुन् । जनादेश, महिमा, ज्वाला साप्ताहिक, जनदिशा दैनिक, समावेशी मासिक, रातोपाटी डटकम, एबिसी टिभी लगायत संचारमाध्यममा काम गरेर पत्रकारिताको लामो अनुभव सँगालेका अधिकारी प्रेस संगठन नेपालका नेता समेत हुन् । 

नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वउपाध्यक्ष अधिकारी हाल भरतपुर महानगरपालिकाको प्रेस सल्लाहकार छन् । अधिकारी पत्रकारितासँगै सामाजिक क्षेत्रमा पनि कृयाशील छन् ।

कसले पाए कुन पुरस्कार ?

यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार गतवर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो । 

यसवर्षको १ लाख १० हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहरालाई प्रदान गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । ५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमले प्राप्त गरेको छ ।

यसवर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) ले पाउने भएका छन् । क्रियाशील पत्रकारिता पुरस्कार जनही २० हजार राशीको छ ।

१५ हजार राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट यसवर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विक (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) पुरस्कृत भएका छन् ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस