भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो, संक्रमितको संख्या ५४ लाख नाघ्यो

एजेन्सी

सोमबार, ०५ असोज २०७७, १५ : १०
भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो, संक्रमितको संख्या ५४ लाख नाघ्यो

आग्रा । भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ । 

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड–१९ बाट संक्रमित भइसकेका छन् ।

गत मार्च महिनामा सरकारले गरेको कडा लकडाउनका कारण लाखौं मानिसको जीविकामै असर परेको छ । त्यहीकारण प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्ला दिनहरुमा अरु मुलुकले अबलम्बन गरेझैं कडा नियमहरु लागू गर्न इच्छुक देखिनु भएको छैन । 

सरकारले पछिल्ला महिनाहरुमा रेलसेवा, घरेलु बिमान सेवा, बजार र रेष्टुराँ समेतका पेशा व्यवसायमा गरिएका प्रतिबन्धहरु खुकुलो बनाउन थालेको छ । सरकारले अब भारतकै विश्वप्रसिद्ध स्मारक ताजमहल सर्वसाधारणका लागि खुला गरेको छ । 

ताजमहल घुम्न परिवारसहित आइपुगेका बैंकका एक अधिकृत आयुब शेखले लकडाउनका कारण धेरै मानिसले रोजगारी गुमाएको अवस्थामा सरकारले पूरै मुलुकलाई खुला गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई अब भाइरसको डर छैन । यसले संक्रमण गर्ने भए गरिसक्यो, अब कति चिन्ता लिएर बस्ने ? अहिले मानिसको मृत्युदर पनि घटेको छ । मेरो विचारमा यो भाइरस त्यतिकै हराएर जाँदैन ।”

भारतमा आग्रास्थित ताजमहल निकै लोकप्रिय पर्यटकीय स्थल हो । यो स्मारक हेर्न बर्षमा झण्डै ७० लाख मानिस यहाँ आइपुग्छन् । तर यो स्मारक विगत सात महिनादेखि बन्द छ । 

अधिकारीहरुले सामाजिक दूरीका नियमहरुमा कडा गरिएको र पर्यटकहरुलाई यहाँका संगमरमर छुन निषेध गरिएको बताएका छन् । राजकुमारी डायनाले सन् १९९२ मा बसेर फोटो खिचाएको बेन्चलाई विशेष किसिमबाट ल्यामिनेट गरिएको छ ताकि त्यसलाई बेलाबेला स्यानिटाइज गर्न सकियोस् ।

सोमबार पहिलो दिन बिहानै सयौं मानिस ताजमहल पुगिसकेका थिए । सुरक्षाकर्मीहरुले मानिसहरुलाई मास्क लगाउन अनुरोध गरिरहेका थिए । यहाँ दैनिक भ्रमण गर्नेको संख्या पाँच हजारमा सीमित गरिएको छ । यो संख्या विगतको भन्दा एक तिहाई मात्र हो ।

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार भन्दा बढी
भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१  पुगेको छ । 

 केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ । 

भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख ३ हजार २९९ जना सङ्क्रमित अवस्थामै रहेका छन् । कु सङ्क्रमित मध्ये ४३ लाख ९६ हजार ३९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । 
प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि  दुई लाख ९८   हजार ५८३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सङ्क्रमितहरु छन् ।

 त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार ७६३ जना,सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड  ४३ लाख ९२ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ । (रासस/एएनआई)