उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयले किन भन्यो : ‘जानकारी बिना विद्युत अनियमित भए खबर गर्नु’

सफल खबर संवाददाता

सोमबार, ०५ असोज २०७७, ०९ : ५४
उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयले किन भन्यो : ‘जानकारी बिना विद्युत अनियमित भए खबर गर्नु’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनःनियुक्त गर्नुपर्ने आवाज उठिरहेकै बेला उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयले कुनै जानकारीबिना विद्युत सेवा नियमित नभएमा खबर गर्न आग्रह गरेको छ ।

पूर्व सूचना बिना विद्युत काटिए उर्जामन्त्री वर्षमान पुनको सचिवालय र विद्युत प्राधिकरणमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले  सामाजिक फेसबुक मार्फत जानकारी दिएका छन् । 

सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के. भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्व सूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको सन्दर्भमा भ्रम उत्पन्न हुन गएको समेत उनले उल्लेख गरेका छन् ।

‘यदि कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री श्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्नुहुन अनुरोध छु’– भट्टले फेसबुकमा उल्लेख गरेका छन्। हाल देशको कुनै पनि ठाउँमा लोडसेडिङ नरहेको पनि स्पष्ट पारिएको छ ।