भाँचियो ‘देशको मेरुदण्ड’– ४

जगदम्बाले उडाइरहेछ धुवाँ, कसले रोक्ने यो प्रदूषण ?

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, ११ : ५०
जगदम्बाले उडाइरहेछ धुवाँ, कसले रोक्ने यो प्रदूषण ?

काठमाडौँ । बाराको सिमरा र वीरगन्जको पर्सा क्षेत्रमा फलामे छड तथा सिमेन्टका धेरै उद्योग छन् । ती उद्योगमध्ये सिमराको जगदम्बा स्टिल सबैभन्दा ठूलो उद्योग हो । थोत्रा फलाम पगालेर फलामे छड बनाउने जगदम्बा स्टिल उद्योगबाट निस्कने धुवाँले सिमरावासी ठूलो स्वास्थ्य समस्याको जोखिममा परेका छन् ।

सिमरावासी सुदीप ढकालको घर जगदम्बा स्टिल उद्योगको ठीक अगाडि छ । उनी पेसाले ज्योतिषीय परामर्श दिन्छन् । सुरुमा जगदम्बा स्टिल उद्योग आफ्नो घरको अगाडि आउँदा ज्यादै खुसी थिए उनी । २ दशक अगाडि जगदम्बा स्टिल त्यहाँ स्थापना हुँदा उद्योगको आकार सानो थियो र त्यसले कुनै प्रदूषण पनि गराएको थिएन । 

आफ्नै घर अगाडि उद्योग आएपछि रोजगारी र बजारीकरणको ठूलो सपना देखेका थिए उनले । तर जब जगदम्बाले आफ्नो उत्पादन क्षमता बढाउँदै गयो र कवाडी पगालेर फलामे डन्डी बनाउन थाल्यो, त्यसपछि भने सिमराबासीको निद हराम हुन थाल्यो । 

मोहनबहादुर कार्की जगदम्बाको फ्याक्ट्री नजिकै मोबाइल पसल चलाएर बस्छन् । स्थानीय बासिन्दा मोहनका अनुसार जगदम्बाको प्रदूषणको कारण सिमराबासीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको छ । कारखाना वरिपरि रहेको बस्तीका स्थानीयमध्ये दमको रोग नभएको व्यक्ति पाउनै मुस्किल हुने उनी बताउँछन् ।

मोहन भन्छन्, ‘हामीले लुगा धोएरबाहिर सुकायौँ भने भोलिपल्ट त्यो लुगा कालो भइसकेको हुन्छ । कारखानाबाट निस्कने कालो धूलो र धुवाँको कारण न त यस वरिपरि रुखबिरुवा उम्रन सक्छ, न त सागसब्जी नै खान हुने हुन्छ । घरमा रङ लगायो भने दुई साता पनि टिक्न पाउँदैन । जगदम्बाको प्रदूषण यति धेरै छ कि रातको समयमा बाहिर आधाघण्टा बस्यो भने मान्छे पूरै कालो बनाइदिन्छ ।’

जगदम्बाको प्रदूषण बाहिर देखिने प्रदूषण मात्रै छैन । जब जब कवाडी पगाल्न थालिन्छ, त्यसपछि सिमराको आकाश पूरै कालो हुन्छ । कार्बनका कारण स्वास फेर्नसमेत गाह्रो हुन्छ । बालबच्चामा रुघाखोकी र निमोनियाको समस्या पटकपटक आइरहन्छ ।

जगदम्बाले दिनको समयमा भन्दा रातको समयमा कैयौँ गुणा बढी प्रदूषण गराउने गरेको छ । दिनको समयमा कवाडी पगाल्दा प्रदूषण नियन्त्रण युनिट चलाउने हुँदा कम प्रदूषण हुने भए पनि रातको समयमा जब सिमराबासी निदाउँछन्, तब सुरु हुन्छ जगदम्बाको धन्दा ।

सिमराबासीले पटकपटक जगदम्बा स्टिल उद्योगसँग प्रदूषण नियन्त्रणका लागि छलफल गरेका छन् । कतिपटक आन्दोलनको तयारी पनि गरेका छन् । राजनीतक दलका स्थानीय कार्याकर्ता, स्थानीय जनप्रतिनिधि र युवाको समूहले नै सिमराबासीको आन्दोलनलाई मत्थर पारेको धेरैको गुनासो छ । कैयौँ पटक आन्दोलन जब उचाइमा पुग्छ, तब स्थानीय नेता तथा जनप्रतिनिधिहरु जगदम्बासँग ‘डिल’ गर्न पुग्छन् । राजनीतिक दल र तिनका नेतालाई चन्दा र भत्ता भए पुगिहाल्छ । जनप्रतिनिधिलाई पनि दाना र पानीको व्यवस्था गरिदिने गरेका उनीहरु पनि सिमराबासीको दुःखमा चुपचाप रहेका छन् ।

जगदम्बाकै उद्योग अगाडि घर भएका श्रेष्ठ थरका एक स्थानीय भन्छन्, ‘स्थिति त यति भयावह छ कि अब बाँच्नै नसकिने भइसकियो । तर यस्ता कुरा गर्न पनि डर छ । सबैले साथ दिएर आन्दोलन गरे प्रदूषण नियन्त्रण गर्न सकिन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस