CG Landmark
भाँचियो ‘देशको मेरुदण्ड’– ३

जगदम्बा स्टिलको कालो कर्तुत : कबाडी बटुलेर छड उत्पादन

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, ११ : २९
जगदम्बा स्टिलको कालो कर्तुत : कबाडी बटुलेर छड उत्पादन

काठमाडौँ । घर वा भवन निर्माणका लागि महत्वपूर्ण हिस्सा लिने छड गुणस्तरीय र बलियो हुनुपर्छ तर देशभित्र सञ्चालनमा रहेका आधा दर्जन छड उद्योगले कबाडी फलाम बटुलेर छडको उत्पादन र बिक्री गर्दै आएका छन् । गुणस्तरहीन छड उत्पादनमा जगदम्बा स्टिल एक कदम अगाडि छ ।

सिमरामा रहेको जगदम्बा स्टिल उद्योग देशकै सबैभन्दा ठूलो उद्योग हो । यसले देशैभरबाट सङ्कलित कवाडी अर्थात् थोत्रा फलामलाई पगालेर छड बनाई बिक्रीका लागि पुनः देशका विभिन्न स्थानमा पठाउँछ । देशैभर सबैभन्दा बढी बिक्री हुने भनेर दाबी गरिएको जगदम्बाको फलामे छड पटकपटक प्रयोग गरिसकिएको थोत्रा फलामलाई पुनः पगालेर बनाइएको कमजोर छड रहेछ भन्ने अहिले आएर झर्लङ्ग भएको छ । 

Yeti Diistillery Tansen Cement box

देशको मेरुदण्ड भनेर प्रचार गरिएको र उच्च गुणस्तरको दाबी गरिएको जगदम्बाको फलामे छड बनाउन थोत्रा फलाम पगालेर बनाइएको कच्चापदार्थ अत्याधिक मात्रामा प्रयोग हुँदोरहेछ । केही मात्रामा भारतबाट आयातित प्राइम ब्लेडको प्रयोगबाट उच्च गुणस्तरको छड बनाए पनि सस्तो मूल्यमा बजारमा बिक्री गरिएको जगदम्बाको छड बनाउन अधिकांश कवाडी फलामहरुको प्रयोग हुँदो रहेछ । 

जगदम्बा स्टिलले आफ्नो छडको विज्ञापनमा ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन र प्रचारप्रसार समेत गरेको छ । तर जसरी जगदम्बा स्टिलले ‘देशको मेरुदण्ड’ भन्दै प्रचारप्रसार गरेको छ, के जगदम्बाको फलामे छड वा रड मेरुदण्डजस्तै बलियो छ त ? अहिले आएर पुष्टि भयो, छैन ।

मुख्य मुख्य सहरबाट कवाडी सङ्कलन केन्द्रले निश्चित रकम दिएर थोत्रा फलामका टुक्राहरु किनेका हुन्छन् । यस्तो कवाडी किन्दा जस्ताका टुक्रादेखि, खिया लागेर काम नलाग्ने भएका फलाम वा फलामको कराहीसम्म लिएका हुन्छन् । यी फलामका टुक्राहरु सङ्कलनकर्ताहरु व्यक्तिका घरघरमा पुगेर सङ्कलन गर्छन् । व्यक्तिका घरघरबाट सङ्कलन गरिएको फलामको टुक्रा सङ्कलन केन्द्रले एजेन्टमार्फत विभिन्न छड उत्पादक कम्पनीलाई बिक्री गर्छन् । सहरबाट बिक्री भएको उक्त छड ट्रकमा लोड गरेर फ्याक्ट्रीमा लगिन्छ । जगदम्बाको फ्याक्ट्रीभित्र हजारौं टन यस्ता थोत्रा फलामका सामान देख्न पाइन्छ । थोत्रा फलामका यी टुक्रालाई पहिले भाँचेर सानो बनाइन्छ । यसका लागि जगदम्बाले विद्युतबाट चल्ने क्रेनको प्रयोग गर्ने गरेको छ । 

थोत्रा फलामका सामानहरुलाई भाँचेर सानो बनाइसकेपछि फ्याक्ट्रीको भट्टीतर्फ लगिन्छ । जगदम्बाले थोत्रा फलाम पगाल्नका लागि ४ वटाभन्दा बढी भट्टी बनाएको छ । यिनै भट्टीमा यी थोत्रा सामान राखेर जगदम्बाले पगाल्ने गरेको छ । विद्युतबाट सञ्चालन हुने यस्तो भट्टीको तापक्रम ४ हजार डिग्री सेन्टिग्रेटभन्दा बढी हुन्छ । यही भट्टीमा फलामका थोत्रा सामान राखेर पगालिन्छ । ती सामान पग्लेर फलामको झोल बन्छ । त्यो झोललाई बिस्तारै तापक्रम घटाइन्छ र फलामको ब्लेड बनाइन्छ ।

थोत्रा फलाम पगालेर छड
थोत्रा फलाम पगालेर छड बनाउँदा त्यहाँ फलामको प्रकृति अनुसार छान्नुपर्ने हो । फलामको छनोट गर्दा खिया लागेको वा नलागेको, कुन प्रकृति वा गुणस्तरको फलाम भनी पहिले नै छान्नुपर्ने हो । तर जगदम्बाको फ्याक्ट्रीभित्र फलामको प्रकृति छुट्याई छनोट गर्ने विधि वा प्रक्रिया अवलम्बन गरिँदैन । एउटा ठूलो चुम्बकले तानेको सबै वस्तुलाई फलामका रुपमा भट्टीमा हालेर पगालिन्छ । जसका कारण पहिले नै कार्बन, फस्फोरस, सल्फर र सल्फर फोस्फरस कम्बाइन्डको मात्रा कम्पोजिसनमा फरक पर्छ । 

ग्याँस सिलिन्डरदेखि फलामका कराही वा कडाभन्दा कडा फलामका सामान र नरम फलामलाई पनि एकै स्थानमा राखेर पगालिन्छ । कडा फलामका सामानमा पहिले नै कार्बन, फोस्फरस र सल्फरको मात्रा बढी हुन्छ । तर छड बनाउन फेरि पनि केही न केही मात्रामा कार्बन, फोस्फरस र सल्फर राखिन्छ, जसका कारण यस्ता छडहरुमा कार्बन र सल्फर तथा फोस्फरसको मात्रा बढी भई फलाम हुनुपर्नेभन्दा कडा बन्छ । आवश्यक मात्रामा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) नहुँदा उक्त छडलाई बंग्याउँदा भाँचिन्छ । यस्ता फलामको डक्टिलिटी मात्रै कम हुँदैन, ब्रिटलनेस (कडापन) बढी हुन्छ । अनि अलिकति बढी दबाब पर्नेबित्तिकै त्यो भाँचिन्छ । 

यस्ता छड प्राइम ब्लेडबाट बनेको छडभन्दा कमजोर हुन्छन् । त्यसकारण थोत्रा फलाम पगालेर बनाइने फलामे छड प्राइम ब्लेडबाट बन्ने छडको तुलनामा स्वाभाविक रुपमा कमजोर नै हुन्छ । कवाडी पगालेर बनाइने अधिकांश फलामे छड निर्माणमै प्रयोग हुने गर्छ, जसका कारण छड मापदण्डभन्दा कमजोर बन्न पुग्छ । 

प्राइम ब्लेड र कवाडीबाट बन्ने छडमा फरक
फलामे छडमा ठूलो मात्रामा फलामकै हिस्सा रहन्छ । त्यसबाहेक फलामे छडमा कार्बन, फोस्फरस, सल्फर र सल्फर फोस्फरसको कम्बाइन्ड केमिकल रहेको हुन्छ । फलामे डन्डी अर्थात् छडमा कार्बनको मात्रा अधिकतम ३ प्रतिशत मात्रै राख्नुपर्छ भने सल्फरको मात्रा शून्य दशमलब शून्य ५५, फोस्फरसको मात्रा शून्य दशमलब शून्य ५५ र सल्फर फोस्फरसको कम्बाइन्ड मात्रा शून्य दशमलब १ शून्य ५ प्रतिशत मात्रै हुनुपर्छ । यदि यसको मात्रामा वृद्धि भयो भने फलामे छडको डक्टिलिटी (नरमपना) कम हुने र ब्रिटलनेस (कडापन) बढी हुन्छ, जसका कारण जति मात्रामा जसरी छड बाङ्गिनुपर्ने हो, त्यसो हुन सक्दैन र बंग्याउन खोज्दा भाँचिन्छ । त्यसकारण कवाडीबाट बनेका फलामे छड प्राइम ब्लेडबाट बनेको छडभन्दा कमजोर हुन्छ ।

संसारभर नै फलाम तथा यस्ता धातुको पुनः प्रयोग गरिन्छ । यसलाई पगालेर वा अन्य स्वरुपमा परिवर्तन गरी यसको प्रयोग हुन्छ । हाल विश्वभर रहेका यस्ता धातुको ३० प्रतिशत धातु पुनः प्रयोगमा गएका छन् भने अमेरिकामा मात्रै ४२ प्रतिशत स्टिल उद्योग यस्तै कवाडीबाट बन्छन् । प्रश्न के हो भने के नेपालमा थोत्रा फलामबाट बनाइएका यस्ता छडले न्यूनतम मापदण्ड पूरा गरेका छन् त ? के थोत्रा फलाममा हुने कार्बन, सल्फर र फोस्फरसको मात्रा घटाउन कुनै विधि प्रयोग गरिएको छ त ? के बजारमा आएका फलामे छडमा कार्बन, सल्फर र फोस्फरसको मात्रा मापन गरिएको छ त ? मुख्य समस्या नै यहीँ हो ।

प्रतिक्रिया दिनुहोस