सुलभ अग्रवालको धन्दा : कहिले कालोबजारी, कहिले गुणस्तरहीन उत्पादन

सफल खबर संवाददाता

मंगलबार, ३० भदौ २०७७, ११ : ०७
सुलभ अग्रवालको धन्दा : कहिले कालोबजारी, कहिले गुणस्तरहीन उत्पादन

काठमाडौँ । व्यावसायिक घराना शंकर ग्रुपका संचालक सुलभ अग्रवाल बेलाबेलामा चर्चामा आउने गरेका छन् । उनी कहिले थर्मल गनको कालोबजारीमा समातिन्छन् त कहिले गुणस्तरहीन छड र सिमेन्ट उत्पादनका कारण कारबाहीमा पर्छन् । गुणस्तरहीन छड उत्पादन गरेको प्रमाणित भएपछि शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिल अहिले गुणस्तर तथा नापतौल विभागको कारबाहीमा परेको छ ।

व्यावसायिक घराना शंकर ग्रुप देशमा कोरोनाको महामारी चलेका बेला थर्मल गन लगायतका स्वास्थ्य उपकरण कालोबजारी गरेको प्रमाणित भएदेखि नै खराब व्यवसायीका रुपमा बदनाम हुन पुगेको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल स्वास्थ्य सामग्री कालोबजारी गरेको अभियोगमा पक्राउ परी धरौटीमा छुटेलगत्तै कमसल निर्माण सामग्री उत्पादन गरेको आरोपमा कारबाहीमा परेपछि खराब व्यवसायीको बदनामी बोक्न यो समूह बाध्य भएको छ ।

कूटनीतिक सुविधा दुरुपयोग गर्दै स्वास्थ्य उपकरण कालोबजारी गर्दा प्रहरीको ‘स्टिङ अपरेसन’ मा रङ्गेहात पक्राउ परेका सञ्चालक अग्रवालले त्यतिबेला अनुसन्धान अधिकारीसँग ‘म अर्बपति मान्छे, दुईचार लाखमा लोभ गर्दा फसें’ भन्दै रोइकराई गरेका थिए । कोरोना कहर भर्खर शुरु हुँदै गर्दा मानवीय संवेदनामाथि खेलवाड गर्न पुगेका अग्रवालप्रति केहीले सहानुभूति देखाएपछि उनी धरौटीमा छुट्न पुगे । तर, अदालत परिसरबाटै उनीमाथि छानबिन गर्न सम्पत्ति शुद्धीकरणले पक्राउ गरेको थियो । 

त्यतिखेर अग्रवालमाथि कारबाही अलि बढी नै भएको हो कि भन्ने जमात यतिखेर पश्चात्ताप गर्दै छ । किनकि अग्रवाल र शंकर ग्रुप उक्त कारबाहीपछि सुध्रिएन, अझै अवैध काम गर्न उद्यत बन्दै गएको पाइएको छ ।

खरिद मूल्यभन्दा कयौं गुणा बढीमा सामान बिक्री गरेको, कर छली गरी सम्पत्ति आर्जन गरेको जस्तो घटना होइन, त्यसभन्दा भयंकर लाखौं मानिसको जीवन र सम्पत्तिमाथि खेलबाड गर्दै कमसल निर्माण सामग्री उत्पादन एवं बिक्री गरेको अभियोग अग्रवालमाथि लागेको छ । अभियोग प्रमाणित भएपछि नापतौल तथा गुणस्तर विभागले कारबाहीसमेत गरेको स्थितिमा अग्रवाल परिवार सर्वसाधारणको जिन्दगीसँग कसरी खेलबाड गर्दाेरहेछ भन्ने विषय उदाङ्गो भएको छ ।

शंकर ग्रुपको जगदम्बा स्टिलका काला कर्तुतबारे सफल खबरले शृंखलावद्ध खबर प्रकाशित गर्ने जमर्को गरेको छ । बुधबारदेखि हामी जगदम्बा स्टिलले गरेका गलत कामको पर्दाफास समाचारमार्फत् निरन्तर गरिरहने छौँ, भाँचियो ‘देशको मेरुदण्ड’ शृंखलामा ।

प्रतिक्रिया दिनुहोस