इरानले अरब सागरतर्फ पठाएको ड्रोन अमेरिकी सेनाद्वारा खसालिएको पुष्टि

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०८२, ०८ : ०६
इरानले अरब सागरतर्फ पठाएको ड्रोन अमेरिकी सेनाद्वारा खसालिएको पुष्टि

काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अमेरिकी एफ–३५सी लडाकु विमानले इरानी ‘शाहेद–१३९’ ड्रोन खसालेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले मंगलबार जनाएअनुसार अरब सागरमा तैनाथ अमेरिकी विमानवाहक जहाज ‘यूएसएस अब्राहम लिंकन’तर्फ बढिरहेको एउटा इरानी ड्रोनलाई अमेरिकी नौसेनाको लडाकु विमानले खसालिदिएको हो । 

ट्रम्प प्रशासनले इरानलाई वार्ताको टेबुलमा ल्याउन सैन्य बल प्रयोग गर्न सक्ने चेतावनी दिइरहेका बेला भएको यस घटनाले दुई देशबीचको तनावलाई थप बढाएको समाचार संस्था एपीले जनाएको छ ।

सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विज्ञप्ति जारी गर्दै उक्त ड्रोन आक्रामक रूपमा विमानवाहक जहाजनजिक आएको बताए । अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालित अमेरिकी बलहरूले तनाव कम गर्ने प्रयास गरिरहेकै बेला उक्त ड्रोन निरन्तर जहाजतर्फ उडिरहेकाले त्यसलाई खसाल्नु परेको उनले स्पष्ट पारेका छन् ।

अमेरिकी सेनाका अनुसार यो घटना इरानी बलहरूले स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेको अमेरिकी झण्डावाहक तथा अमेरिकी चालक दल रहेको एक व्यापारिक जहाजलाई अवरोध गरेको केही घण्टाभित्रै भएको हो ।

सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अर्को विज्ञप्तिमा अमेरिकी सेनाले तनाव कम गर्ने प्रयास गर्दागर्दै पनि उक्त इरानी ड्रोन निरन्तर जहाजतर्फ नै उडिरहेको जानकारी दिएका छन् ।

अमेरिकी विमानवाहक जहाज र यसको ‘स्ट्राइक ग्रुप’ गत हप्ता मात्रै सेन्ट्रकमको कार्यक्षेत्रमा आइपुगेका थिए । सेन्ट्रल कमान्डका अनुसार यस घटनामा कुनै पनि अमेरिकी सैनिक घाइते भएका छैनन् । कुनै पनि सैन्य उपकरणमा क्षति पुगेको छैन ।

इरानका छिमेकी देशहरूले इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानी अधिकारीहरूबीच बैठक गराउन पहल गरिरहेको समयमा यो घटना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शुक्रबार इस्तानबुलमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेट्ने तालिका थियो । 

यसअघि राष्ट्रपति ट्रम्पले कुनै सम्झौता हुन नसके नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । हाल पेन्टागनले इराननजिकै दर्जनौँ युद्धपोत, लडाकु विमान र कार्गो विमानसहित ठूलो सैन्य उपस्थिति तैनाथ गरेको छ ।

प्रतिक्रिया दिनुहोस