भाँचियो ‘देशको मेरुदण्ड’–१

जगदम्बा स्टिलको नारा ‘देशको मेरुदण्ड’ : तर भौतिक निर्माण संरचनामा देशको मेरुदण्ड नै भाँचिने गरी गुणस्तरहीन उत्पादन, उपभोक्तामाथि चरम ठगी

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, ११ : ०९
जगदम्बा स्टिलको नारा ‘देशको मेरुदण्ड’ : तर भौतिक निर्माण संरचनामा देशको मेरुदण्ड नै भाँचिने गरी गुणस्तरहीन उत्पादन, उपभोक्तामाथि चरम ठगी

काठमाडौँ । छड उत्पादक कम्पनी जगदम्बा स्टिलको नारा हो, ‘देशको मेरुदण्ड’ । यतिबेला यो कम्पनीको मेरुदण्ड भाँचिएको छ । जगदम्बा स्टिलले उत्पादन गरेको फलामे छड गुणस्तरहीन पाइएपछि गुणस्तर तथा नापतौल विभागले छड उत्पादन र बिक्रीमा रोक लगाएको छ ।

शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टिलद्वारा उत्पादित फलामे छडको गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री र उत्पादनमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । आफूलाई नेपालको नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दाबी गर्दै उपभोक्ता झुक्याउँदै आएको जगदम्बा स्टिलले अहिले गुणस्तरहीन फलामे डन्डी बिक्री गरी उपभोक्तालाई चरम ठगी गर्दै आएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको हो ।

विभागले गत शुक्रबार जगदम्बा स्टिल कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको ‘१६ एमएमको टिएमटी बार’ फलामे डन्डी बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । कारबाहीस्वरुप विभागले १६ एमएम साइजमा इजाजत रोक्ने, त्यस उद्योगबाट उत्पादित करिब ३ सय टन गुणस्तरहीन फलामे डन्डीलाई विभागका प्रतिनिधिको रोहवरमा नष्ट गरी बिक्री हुन नदिने निर्णय गरेको छ ।

विभागको निर्णय अनुसार जगदम्बा स्टिलबाट उत्पादन भई बजारमा गएका ती सबै छड फिर्ता गर्नुपर्नेछ । जगदम्बा स्टिल उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्ड अनुरुप नपाइएपछि विभागले कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

विभागका अनुसार संकलित नमुना अनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बाेनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको र बेन्ड टेस्टमा क्र्याक भएको छ । मापदण्ड परीक्षण गर्ने क्रममा जगदम्बा स्टिल उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम ९१६० बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागको भनाइ छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस्तो गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाउनु परेको बताए । गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गर्दा यस्तो कमजोरी भेटिएको जानकारी गराउँदै उनले मापदण्ड अनुसार नभएपछि बिक्रीमा रोक लगाइएको बताए । विभागले अहिले सो ब्याचको सम्पूर्ण छड बजारबाट फिर्ता लिनसमेत निर्देशन दिएको छ ।

बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउनसमेत उद्योगलाई निर्देशन दिएको बताउँदै पुडासैनीले भने, ‘विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ ।’ विभागको निर्देशन अनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका डन्डी फिर्ता लिनुपर्नेछ । 

उपभोक्ताहरु मर्कामा

कम्पनीको छड प्रयोग गरेर घर तथा व्यापारिक प्रतिष्ठान निर्माण गरेका उपभोक्ताहरु समेत मर्कामा परेको गुनासो गर्न थालेका छन् । जगदम्बा कम्पनीकै छड प्रयोग गरेर घर निर्माण गरेका भरतपुर महानगरपालिका–१० का एक स्थानियले भने–‘घर भनेको हाम्रो सपना हो, बारम्बार बनाउन सकिदैंन, तर मैले यही छड प्रयोग गरेर घर बनाएको छु, केही कमसल छ भने यसको जिम्मेवारी कसले लिने ?’ उनले ५ वर्ष अघि गएको भुकम्पले घर बलियो, भूकम्प प्रतिरोधी बनाउन सरकारले विभिन्न ऐनकानुन ल्याएको सम्भिदैं भने–त्यही अनुरुप घर बनाईयो, अहिले घर बलियो हुने मुख्य आधार छड नै कमसल, गुणस्तरहिन छ भन्दा कसलाई भन्न जाने ?’

भरतपुरका स्थानिय मात्र हैन, काठमाडौं–२८ मा यही छड प्रयोग गरेर घर निर्माण गरेका एक सरकारी सेवा निवृत्त कर्मचारी पनि दोधारमा परेका छन् । सरकार प्रति आक्रोश व्यक्त गर्दै उनले यस्ता कम्पनीहरु मोटो रकम चलखेल गरि सरकारी संरक्षणमै आफ्नो दुनो सोझ्याउने गरेका छन्, जिन्दगी भरिको कमाईले घर बनाईयो, अहिले त्यही घर पनि छडका कारण कमसल ।’

भूकम्पले थिलोथिलो परेको मुलुकमा भौतिक निर्माणहरु झन बलियो हुनुपर्छ भनेर सरकारले नै विभिन्न ऐन नियम कानुन परिमार्जन गरेको छ तर देश भित्रै निर्माण भएका कतिपय भौतिक संरचनाहरु यही कमसल, गुणस्तरहिन छडबाट निर्माण भएको छ । ठेकेदारहरुलाई मोटो रकम कमिसन दिएर यस्ता कमसल सामग्री  प्रयोगमा गराउन यी ठुला व्यवसायीहरु न्वारन देखिको बल नै प्रयोग गर्ने गरेका छन् । 

उजुरीका आधारमा उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो । कार्बनको मान ०.३० प्रतिशत (म्याक्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले सो परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले जगदम्बा स्टिल प्रालिलाई लेखेको पत्रमा उल्लेख छ ।

जगदम्बा स्टिल प्रालिले फलामका डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएको छ । परीक्षणको क्रममा जगदम्बा स्टिलको फलामे डन्डीमा केमिकलको मात्रा धेरै पाइएको छ । सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ ।

यसरी बाहिर आयो जगदम्बाको कर्तुत

गत साउनमा काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डन्डी भाँच्चिएको फेला परेको थियो । सो डन्डी गुणस्तरहीन भएको भन्दै घरधनी भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो । डन्डी न्यून गुणस्तरको पाइएपछि कारबाही अघि बढाएको हो ।

बोहोराटारमा घर निर्माण गरेका भट्टराई आफ्नो बनाउँदै गरेको घरमा जगदम्बा स्टिलस्का छड पिटिक्क भाँचिन थालेको बताउँछन् । तीन तलाको घर सम्पन्न गर्न लागिसकेका भट्टराईले लकडाउनका बेला पनि नियमित निर्माण जारी रहेको घरमा गत २८ साउनको बिहान बेन्डिङ गर्न लागिएका १६ एमएमको जगदम्बाको छड पिटिक्क भाँचिएपछि अन्य रडहरु पनि परीक्षण गर्दा त्यसरी नै भाँचिएका थिए । त्यसपछि मात्र जगदम्बाको कर्तुत बाहिर आएको हो ।

अनुसन्धानको क्रममा फलामे डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कबाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ  । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ  । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा लापरवाही देखिएपछि उपभोक्ताको हितमा बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको विभागले जनाएको छ ।

यसअघि पनि जगदम्बा स्टिलका उत्पादनमा धेरै पटक प्रश्न उठेको थियो । समस्या आएका ठाउँमा सो कम्पनीले प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डन्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको थियो  । अहिले काठमाडौ महानगरपालिका–१६ बोहोराटारका भट्टराईको घर पनि बिमा गरिदिने र क्षतिपूर्ति दिने आश्वासन कम्पनीले दिएको स्रोत बताउँछ ।

घर निर्माणमा संलग्न सरोकारवालाले हाल जगदम्बालगायत केही उद्योगले टुक्रादेखि, खिया लागेर काम नलाग्ने कबाडी फलामसमेत संकलन र प्रशोधन गरी नयाँ रड बनाउने गरेकाले यस्तो समस्या आएको दाबी गरेका छन् । उनीहरुका अनुसार अहिले जगदम्बाले थोत्रा फलाम पगाल्न भट्टी बनाएको छ । उच्च तापक्रममा फलामका थोत्रा सामान पगालेर लिक्विड आइरन बनाइन्छ  । क्रमशः तापक्रम घटाएर फलामको ब्लेड बनाइन्छ  । त्यसलाई छड बनाउन प्रयोग गरिन्छ । यस्तो कबाडी फलाम पगालेर बनाइने रडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छ । प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ  । अधिकांश छड उद्योगमा प्राइमरी ब्लेड, सेकेन्डरी ब्लेड प्रयोग गर्ने गरिन्छ । प्राइमरी ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलो पटक प्रयोगमा ल्याइएको हुन्छ । सेकेन्डरी ब्लेडमा खेरजाने खालका कबाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छ ।

कम्पनीबाट त्रुटि स्वीकार

कम्पनीले दक्ष जनशक्ति नहुँदा प्राविधिक त्रुटि भएको स्वीकार गरेको विभाग स्रोतले जनाएको छ । विभागले उक्त छड उत्पादन तथा बिक्रीमा रोक लगाउँदै बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । साथै कम्पनीको गोदाममा रहेको स्टक पनि नष्ट गर्ने जनाएको छ ।

स्रोतका अनुसार कम्पनीको गोदाममा रहेको तीन सय टनभन्दा बढी छड त नष्ट होेला तर बजारमा गई बिक्री भई प्रयोगमा समेत आइसकेको लाखौं टन छड के गर्ने त्यो महत्वपूर्ण छ । कम्पनीले दिएको जानकारीका आधारमा केही टन छड बजारबाट फिर्ता पनि आउला तर प्रयोग भई निर्माण गरिएका भौतिक संरचना के गर्ने ? त्यो संरचनाबाट हुन सक्ने मानवीय जोखिमलगायत सम्पत्तिको जोखिमको जिम्मा कसले लिने भन्ने विषय गम्भीर छ । त्यसैले केही समयलाई उत्पादन र बिक्रीमा रोक लगाउने मात्रै होइन, यसको दीर्घकालीन समाधान खोजिनुपर्ने उपभोक्ताकर्मीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस