नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएइको प्रतिष्ठित ‘फ्युचर ग्रेट अफ द इयर’ अवार्डबाट सम्मानित

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०८२, १९ : ५२
नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएइको प्रतिष्ठित ‘फ्युचर ग्रेट अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा आयोजित अन्तर्राष्ट्रिय पाककला प्रतियोगितामा उत्कृष्ट ठहरिँदै पुरस्कृत भएका छन् ।

युएईमा सम्पन्न प्रतिष्ठित ‘द गोल्ट एन्ड मिलो २०२६ अवार्ड’ समारोहमा व्यक्तितर्फ श्रेष्ठसहित पाँचजना सेफलाई सम्मान गरिएको हो ।

युएईको चर्चित होटल ‘एटलान्टिस द रोयल’ मा फेब्रुअरी २, २०२६ मा आयोजित समारोहमा श्रेष्ठले ‘फ्युचर ग्रेट अफ द इयर’ विधातर्फको अवार्ड प्राप्त गरेका हुन् ।

उक्त विधामा श्रेष्ठसहित पाँचजना सेफ सर्टलिस्टमा परेका थिए, जसमध्ये चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले अवार्ड हात पारेका हुन् ।

हाल श्रेष्ठ युएईको दुई मिसेलिन स्टार प्राप्त रेस्टुरेन्ट ‘रो अन ४५’ मा हेड सेफको रूपमा कार्यरत छन् । समारोहमा विभिन्न विधातर्फ १२ वटा रेस्टुरेन्टलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

श्रेष्ठ विश्वका प्रतिष्ठित फाइन डाइनिङ सेफहरूको सूचीमा समेटिएका नाम हुन् । उनले मिसेलिन गाइड २०२५ मा लगातार दोस्रो वर्ष दुई मिसेलिन स्टार कायम राख्न सफल सेफको रूपमा समेत आफ्नो स्थान सुरक्षित गरेका छन् ।

उनको यो सफलताले विश्वस्तरीय पाककला क्षेत्रमा उत्कृष्टता र नवप्रवर्तनलाई निरन्तरता दिन सक्ने क्षमताको पुष्टि गरेको छ ।

बेलायतको युनिभर्सिटी अफ इस्ट एंग्लियामा अध्ययन गरेका श्रेष्ठ नेपालको प्रतिष्ठित व्यावसायिक घराना चितवन को–इ समूहका निर्देशक राजेशबाबु श्रेष्ठका छोरा हुन् ।

परिवारको परम्परागत व्यवसायभन्दा फरक बाटो रोज्दै पाककला क्षेत्रमा करिअर बनाएका उनले विश्वविद्यालयको अध्ययन पूरा गरेपछि फ्रान्सको चर्चित ‘ले म्यान्वार ओ क्वा सैजों’ तथा मार्कस वेयरिङको ‘द स्क्वायर’जस्ता मिसेलिन स्टार प्राप्त भान्साहरूमा प्रशिक्षण लिएका थिए । त्यसपछि लन्डन, सिंगापुर र नर्वेका ख्यातिप्राप्त रेस्टुरेन्टमा काम गर्दै उनी युएई पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस