यस्तो छ जनकपुर–जयनगर रेल, आज भारतले नेपाललाई हस्तान्तरण गर्दै

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, १० : ५०
यस्तो छ जनकपुर–जयनगर रेल, आज भारतले नेपाललाई हस्तान्तरण गर्दै

जनकपुरधाम । जनकपुर–जयनगर चल्ने रेल हिजो बिहिबार नै सिमावर्ती क्षेत्र जयनगरमा आएसंगै आज भारतीय कम्पनीले उक्त रेल नेपाल रेल्वे विभागलाई हस्तान्तरण गर्दैछ । 

भारतीय कम्पनीले एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आज दिँउसो जनकपुरमा हस्तान्तरण गर्न लागेको हो ।  भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल आज  औपचारिक रुपमा रेल विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

रेलका दुबै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि बिहीबार नै हिँडिसकेको छ । जयनगरबाट रेल आउने मार्गका ठाउँ–ठाउँमा प्रहरी खटाइएको छ । रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग रेलको दुई सेट खरिद गरेको हो ।

भारतकै लगानीमा जयनगरदेखि कुर्थासम्म निर्माण भएको ३४ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्रयाकमा पहिलो चरणमा रेल गुड्ने बताइएको छ । दोस्रो चरणमा भने कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर दूरीमा रेल चल्ने साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए । 

उनका अनुसार भारतीय कम्पनीसँग गरिद गरिएको दुबै आधुनिक रेल सेट डेमो ट्रेन सेट हो । यो डिजेल र विद्युत् दुवैबाट चल्छ । रेलको एउटा सेटमा इन्जिनसहित ५ वटा बोगी छ  । पाँचवटै बोगीमा १ हजार ३ सय यात्रु अट्ने क्षमता छ । चारवटा बोगी (कोच) मध्ये एउटा एसी कोच र ३ वटा जेनरल हो ।