भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ८२ हजार बढीको मृत्यु

एजेन्सी

बुधबार, ३१ भदौ २०७७, १२ : ०४
भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ८२ हजार बढीको मृत्यु

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । पछिल्लो केही दिन यता दैनिक ८० देखि ९० हजार भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको भारतमा कुल संक्रमितको संख्या ५० लाख २० हजार पुगेको हो । विश्वभरिमै संक्रमितको संख्या बढी हुने देशको संख्यामा भारत दोश्रो स्थानमा पुगेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार भारतमा हालसम्म कोभिड–१९ का कारण ८२ हजार भन्दा बढीको ज्यान गएको छ । भारतमा संक्रमित हुनेको संख्या तीव्र गतिमा बढिरहेको भए पनि धेरै संक्रमित भएका अरु देशको तुलनामा मृत्युदर कम छ । सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि संक्रमित हुनेको संख्या तीव्र गतिमा बढ्दै गएको हो । महामारीको सुरुवाति चरणमा भारतमा अवस्था नियन्त्रणमै रहेपनि  हाल आएर अवस्था अति खराब बनेको हो ।

यो महिनाका हरेक दिन अस्पताल तथा केयर होमहरुले २७ सय टन अक्सिजन खपत गरिरहेका छन् । अप्रिलमा दैनिक अक्सिजन खपत ७५० टन थियो । पछिल्लो दिन भारतमा अक्सिजनको माग ह्वात्तै बढेको छ । अस्पताल तथा व्यवसायजन्य क्षेत्रबाट पनि माग बढेकाले अक्सिनको अभाव हुँदै गएको उत्पादकहरुले बताएका छन् । विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६६ लाख ५ हजार भन्दा बढी पुगेको छ । त्यहाँ एक लाख ९६ हजार मानिसको ज्यान गएको छ ।

यस्तै ब्राजिलमा कुल संक्रमितको संख्या ४३ लाख ८२ हजार भन्दा बढी पुगेकोमा १ लाख ३३ हजार भन्दा धेरैको ज्यान गएको छ । विश्वमा संक्रमितको संख्या दुई करोड ९५ लाख ७१ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । अहिलेसम्म विश्वभर कोभिड–१९ का कारण ९ लाख ३४ हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस