सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

पत्रपत्रिकाबाट

बुधबार, ३१ भदौ २०७७, ०८ : १७
सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ

बझाङ । २१ भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरका कुनै सदस्यले गल्ती पो गरिहाले कि भन्ने सोचेर उनले बाहिर निस्कन हिम्मत पनि गरिनन् ।

तर, प्रहरीको नम्र बोली र व्यवहारले उनलाई प्रहरी टोली नजिक जान बाध्य बनायो । जब प्रहरी टोलीबाट सहयोगको याचना सुनिन्, उनको मन नै भाउन्न भयो । र, मनमनै सोचिन्– सरकारी कर्मचारी, त्यसमा पनि प्रहरीको यो अवस्था छ भने हामी जस्ताको त हिसाब नै हुँदैन ।

भएको के रहेछ भने, सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी टोली २० भदौको रात भोकभोकै सुत्नुपरेपछि एकाबिहानै रुप्सीको घरमा खाद्यान्न पैँचोका लागि पुगेको रहेछ । हुन त उनीसँग पनि घरमा प्रशस्त खाद्यान्न थिएन । मनकारी रुप्सीले प्रहरीको भोको पेट देख्न सकिनन् । आफूसँग भएको दुई कट्टा चामलमध्ये एक कट्टा चामल प्रहरीलाई दिइन् ।

यहाँ कार्यरत प्रहरीले खाद्यान्नको अभावमा यसरी नै पैँचो मागेर पेट भरिरहनुपरेको छ । रुप्सीको घरबाट लगेको एक कट्टा चामललाई पाँच दिन पु(याएका प्रहरी छैँटौं दिनदेखि फेरि भोको पेट बस्नुपर्ने अवस्था आयो । उनीहरूले एक दुई दिन स्थानीयसँग भएको खोले र उवाले जेनतेन छाक टारे । त्यसपछि स्थानीय भीम रोकायालाई गुहारे ।

उनले पनि एक कट्टा चामल पैँचो दिए । उनीबाट लिएको चामल पनि सकेपछि गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले स्थानीय एक जनाबाट फेरि एक कट्टा चामल निकालेर दिए । अहिले त्यही एक कट्टा चामलको भरमा गुजारा चलाइराखेको छ सीमा प्रहरी चौकी धुली । यो ठाउँ अत्यन्तै विकट छ । खाद्यान्न पनि पाउन मुस्किल पर्छ । स्थानीयले खेती किसानी गरेर जेनतेन जीवन धानिरहेका छन् । तर, प्रहरीले भने लामो समयदेखि खाद्यान्न अभाव झेल्नुपरिरहेको छ । त्यसैले कैयौं रात यहाँका प्रहरी भोकभोकै बस्नुपर्ने बाध्यता छ ।

२५ साउन २०७५ । तत्कालीन प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी र तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी गणेश बम सीमा प्रहरी चौकी धुली पुगेका थिए । आफ्ना समस्या बुझ्छन् कि भनेर प्रहरीहरू निकै खुसी भए । तर, उनीहरूले आफ्ना समस्या भन्नै सकेनन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस