किलोमै ३७ रुपैयाँ बढ्यो खाद्यान्नको भाउ, के को भाउ कति ?

पत्रपत्रिकाबाट

सोमबार, २९ भदौ २०७७, ०८ : ०२
किलोमै ३७ रुपैयाँ बढ्यो खाद्यान्नको भाउ, के को भाउ कति ?

काठमाडौं । सर्वसाधारणले दैनिक उपभोग गर्ने अत्यावश्यक वस्तुको मूल्य एक वर्षमा किलोमै ३७ रुपैयाँसम्म बढेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ४२ खुद्रा पसलको निरीक्षणपछि तयार पारेको मूल्य विश्लेषण विवरणले यस्तो देखाएको हो ।

विभागका निरीक्षक अधिकृतले कीर्तिपुर, ललितपुर, भक्तपुर, बुद्धनगर, टोखा, चाबहिल, जोरपाटी, कलंकीलगायत १५ ठाउँबाट मूल्य संकलन गरेको विभागका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिए । मूल्य खुद्रा पसलबाट संकलन गरिएको थियो । मूल्य विश्लेषण गर्दा सबैभन्दा बढी दाल, गेडागुडी र खानेतेलको भाउ बढेको उनले बताए ।

अबको अनुगमन दाल, तेल चामललगायत क्षेत्रमा केन्द्रित गरिने उनले जानकारी दिए । एक वर्षको तुलनामा मूल्य घटे पनि एक,दुई महिनाको अवधिमा भने खासै वृद्धि नभएको व्यवसायीको दाबी छ । उनीहरूका अनुसार पछिल्लो समय खाद्यान्नको माग छैन । बिक्री धेरै घटेको छ ।विभागको विवरणअनुसार गत वर्ष भदौमा किलोको १ सय १० रुपैयाँमा बिक्री भएको मासको दाल अहिले किलोको १ सय ४७ रुपैयाँ पुगेको छ । मुसुरो (ठूलो) किलोमा ३१ रुपैयाँ बढेर १ सय २१ रुपैयाँ पुगेको छ ।

बोडी पनि किलोकै ३१ रुपैयाँ बढेको विभागले जनाएको छ । गत वर्ष भदौमा किलोमा ९५ रुपैयाँमा बिक्री भएको बोडी अहिले १ सय २६ रुपैयाँमा कारोबार भएको छ । हरियो केराउ किलोमा २६ रुपैयाँ बढेको छ । गत वर्ष भदौमा किलोको ८० रुपैयाँमा बिक्री भएको केराउ बढेर १ सय ६ रुपैयाँ पुगेको छ । साथै मुसुरो (मसिनो) किलोमा २४ रुपैयाँ बढेर १ सय ४४ रुपैयाँ, मुगी किलोमा १९ रुपैयाँ बढेर १ सय ५९ रुपैयाँ पुगेको छ । 

एक वर्षमा मुगी (खोस्टा नभएको) किलोमा १७ रुपैयाँ बढेर १ सय ७२ रुपैयाँ पुगेको विभागले तयार पारेको मूल्य विश्लेषणले देखाएको छ । साथै तोरीको तेल लिटरमा १७ रुपैयाँ बढेर १ सय ७७, भटमास तेल लिटरमा १२ रुपैयाँ बढेर १ सय ५२, सनफ्लावर तेल लिटरमा १२ रुपैयाँ बढेर १ सय ६२ रुपैयाँ पुगेको छ ।

सानो केराउ प्रतिकिलो १६ रुपैयाँ बढेर १ सय ३६, राजमा किलोमा १५ रुपैयाँ बढेर १ सय ६३, भटमास प्रतिकिलो ९ रुपैयाँ बढेर १ सय ९ र चना किलोमा ७ रुपैयाँ बढेर १ सय ७ रुपैयाँ पुगेको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस