नेकपा संगठन विभागको निर्णय : मंसिरभित्र सदस्यता नवीकरण

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, १७ : १८
नेकपा संगठन विभागको निर्णय : मंसिरभित्र सदस्यता नवीकरण

फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी विवाद साम्य भएलगत्तै आइतबार बसेको संगठन विभागको बैठकले मंसिरभित्र सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ ।

बैठकले आगामी मंसिरभित्र सदस्यता नविकरण र नयाँ सदस्यबारे सबै काम सक्नेगरी काम गर्ने निर्णय गरेको संगठन विभाग उपप्रमुख जनार्दन शर्माले जानकारी दिए ।  यसअघि शुक्रबार सम्पन्न स्थायी समिति बैठकले आगामी कात्तिक १५ देखि १७ गतेसम्म चैतमा हुने महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

नेकपाको एकता महाधिवेशन आगामी चैत २५ देखि ३० सम्म काठमाडौमा गर्ने निर्णय गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले गरेको थियो । त्यसका लागि नेकपाले आगामी असोज महिनाभित्र एकताका सबै काम सम्पन्न गर्ने पनि निर्णय गरिसकेको छ । 

पार्टीमा देखिएको आन्तरिक विवाद साम्य भएसँगै नेकपा अब महाधिवेशन केन्द्रीत गतिविधिमा लागि पर्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतम, उपप्रमुख जनार्दन शर्मा, सदस्यहरू मातृका यादव, खगराज भट्ट तथा प्रदेशका इन्चार्जहरू सहभागि भएको नेकपा केन्द्रीय कार्यालय सचिव तथा केन्द्रीय सदस्य इश्वरी रिजालले जानकारी दिए । 

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका ८ लाख सदस्य रहेको बताइएको छ । यद्यपि सदस्यहरुको अभिलेख चुस्त दुरुस्त नभएकाले नेकपालाई सदस्यतासम्बन्धी विषय टुंग्याउन सकस पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस