कोरोना भाइरस

चितवनमा कोरोनाबाट मर्नेको प्रतिशत देशभरभन्दा दोब्बर

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, ११ : ४६
चितवनमा कोरोनाबाट मर्नेको प्रतिशत देशभरभन्दा दोब्बर

फाइल फोटो

चितवन । चितवनमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भई मृत्यु हुन पुगेकाहरुको प्रतिशत देशभरमा मृत्यु भएका संक्रमितहरुको प्रतिशतभन्दा दोब्बर रहेको छ ।

देशभरमा कोरोना संक्रमितमध्ये शुन्य दशमलव ६३ प्रतिशतको मात्र मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार जिल्लामा शनिबारसम्म एक हजार २४३ जना कोरोना सङ्क्रमित भएका छन् । संक्रमितमध्ये १६ जनाको मृत्यु भएको छ । यो मृत्यु प्रतिशत एक दशमलव २८ हुन आउँछ, जुन देशभर कोरोनाबाट मर्नेको प्रतिशतभन्दा दोब्बर हो ।

कोरोनाबाट मृत्यु भएका १६ जनामध्ये भरतपुर महानगरपालिकाका नौ जना, खैरहनी नगरपालिकाका दुई जना, रत्ननगर नगरपालिकाका तीन जना, राप्ती नगरपालिकाका दुई जना रहेका छन् । इच्छाकामना, माडी र कालिका गाउँपालिकामा सङ्क्रमितको मृत्यु संख्या शून्य रहेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं ११ मा मात्र मृत्यु हुने कोरोना सङ्क्रमितको संख्या ६ जना पुगेको छ । वडा कार्यालयले माइकिङ गरेर भए पनि वडावासीलाई कोरोना भाइरसको विषयमा सचेतना गराइरहेको छ ।

चितवन जिल्लाभर ९२८ जना आइसोलेसनमा रहेका छन् । ‘चितवनमा सङ्क्रमित हुनेको संख्या बढिरहेको छ, केही दिन सङ्क्रमित हुनेको संख्या कम भए पनि फेरि बढ्न थालेको छ’ स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै सतर्कता अपनाइएन भने यसले भयावह रुप लिन पनि सक्छ ।’

उनका अनुसार सङ्क्रमितको संख्या बढ्दै गयो भने आइसियू र भेन्टिलेटरमा बस्नेहरुको संख्या पनि बढ्छ, त्यस्तो अवस्थामा आइसियू र भेन्टिलेटरको समेत जिल्लामा अभाव हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस