कोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु

एजेन्सी

शनिबार, २७ भदौ २०७७, १८ : ३९
कोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु

काठमाडौं । विश्वभरि कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म नौ लाख २० हजार १४४ जनाको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म दुई करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने दुई करोड पाँच लाख ९४ हजार ८८४ पुगेको छ । 

हाल विश्वमा ७१ लाख ६४ हजार १६४ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ७१ लाख तीन हजार २७४ जनाको अवस्था सामान्य रहेको जनाएको छ । त्यसैगरी ६० हजार ८९० जनाको अवस्था भने गम्भीर रहेको पाइएको छ । 

अनुपातमा हेर्दा कूल सङ्क्रमितमध्ये झण्डै ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको छ भने एक प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले विश्वका २१५ देशमा देखिएको छ । यसको सङ्क्रमण विश्वभरि नै फैलिएपछि अहिले महामारीको रुप लिएको छ । 

कोरोना भाइरसबाट बढी प्रभावित भएका देशहरुमध्ये संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि रहेको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यस्तो रहेको छ ।  

अमेरिकामा ६६ लाख ३६ हजार २६६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । तीमध्ये एक लाख ९७ हजार ४२१ जनाको मृत्यु भएको छ । 

दोस्रो धेरै प्रभावित भएको भारतमा ४६ लाख ६३ हजार ९३० जना कोरोना भाइरसबाट सङ्क्रमित रहेका छन् भने ७७ हजार ५३७ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा ४२ लाख ८३ हजार ९७८ जना कोरोना भाइरसबाट सङ्क्रमित हुँदा एक लाख ३० हजार ४७४ जनाको मृत्यु भएको तथ्याङ्क छ ।  

रुस १० लाख ५७ हजार ३६२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यहाँ कोरोनाकै कारण अहिलेसम्म १८ हजार ४८४ जनाको मृत्यु भएको छ ।

पेरुमा भने सङ्क्रमित भएकाहरुको सङ्ख्या सात लाख ६१ हजार ६७० रहेको छ ।  सङ्क्रमित भएकाहरुको सङ्ख्या रुसको भन्दा थोरै रहे पनि मृत्यु भएकाहरुको सङ्ख्या भने रुसमा भन्दा पेरुमा धेरै रहेको छ । पेरुमा कोरोनाका कारण तीस हजार ४७० जनाको मृत्यु भएको छ । 

त्यसैगरी कोलम्बिया सात लाख दुई हजार ८८, मेक्सिको छ लाख ५८ हजार २९९, दक्षिण अफ्रिका छ लाख ४६ हजार ३९८, स्पेन पाँच लाख ७६ हजार ६९७ र अर्जेन्टिनामा पाँच लाख ३५ हजार ७०५ जना सङ्क्रमित भएका छन् ।  (रासस/एएफपी/सिन्ह्वा)