कंगना रनौत र महाराष्ट्र सरकारबीचको विवाद उत्कर्षमा : लागुऔषधबारे छानविन गर्न निर्देशन

एजेन्सी

शनिबार, २७ भदौ २०७७, १२ : ०२
कंगना रनौत र महाराष्ट्र सरकारबीचको विवाद उत्कर्षमा : लागुऔषधबारे छानविन गर्न निर्देशन

फाइल फोटो

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत र महाराष्ट्र सरकारबीचको विवाद उत्कर्षमा पुगेको छ । महाराष्ट्रको गृह मन्त्रालयले उनीविरुद्ध लागुऔषधबारे छानविन गर्न मुम्बई प्रहरीको अपराध महाशाखालाई निर्देशन दिएको छ । 

महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले कंगानासहित अन्य सेलिब्रेटीमाथि लागुऔषध प्रयोगबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए। कंगनाका पूर्वप्रेमी अध्ययन सुमनले एक अन्तर्वार्ताको क्रममा कंगना लागुऔषध प्रयोग गर्ने गरेको बताएका थिए ।

देशमुखको उक्त बयानपछि शिवसेना विधायक प्रताप सरनायकले गृह विभागमा एक पत्र पठाएका थिए । त्यसपछि गृहले प्रहरीलाई जाँचका लागि निर्देशन दिएको हो ।

मुम्बई महानगरले उनले अफिस अवैधरूपमा निर्माण गरेको भन्दै भत्काएको थियो। त्यसपछि कंगना थप आक्रोशित बनेकी छिन् । उनले ट्वीटरमार्फत मुम्बई प्रहरी र महाराष्ट्र सरकारविरुद्ध आवाज उठाउँदै आएकी छिन् । उनले आफूलाई चलचित्रका गुण्डाभन्दा पनि मुम्बई प्रहरीसँग बढी डर लाग्ने गरेको ट्वीट गरेकी थिइन् ।

उनले हिमाञ्चल प्रदेश सरकार वा केन्द्र सरकारसँग सुरक्षाको माग गरेकी थिइन् । सोही आधारमा उनलाई हिमाञ्चल प्रदेश सरकारले ११ जनाको सुरक्षा प्रदान गरेको छ। उक्त सुरक्षा प्रदान गरेपछि महाराष्ट्र सरकारका आक्रोशित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस