भारतको एयरफोर्समा थपिए पाँच वटा राफेल जेट

एजेन्सी

विहीबार, २५ भदौ २०७७, १४ : २३
भारतको एयरफोर्समा थपिए पाँच वटा राफेल जेट

एजेन्सी । फ्रान्सबाट खरिद गरिएको पाँचवटा आधुनिक फाइटर जेट राफेल भारत आइपुगेको ४३ दिनपछि बिहीबार भारतको अम्बाला एयरफोर्स स्टेशनस्थित वायुसेनामा सामेल भएको छ । 

भारतीय रक्षामन्त्री राजनाथ सिंहले राफेल जेट भारतीय वायुसेनामा सामेल हुनु पूरा विश्वलाई एउटा कडा सन्देश रहेको जिकिर गरे । वायुसेनाका प्रमुख आरकेएस भदौरियाले सुरक्षाको मौजुदा स्थितिलाई हेर्दा राफेललाई सामेल गर्ने योभन्दा राम्रो समय अरु कुनै पनि हुन नसक्ने बताए ।

यसअघि फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लेको उपस्थितिमा सर्वधर्म (हिन्दू, मुस्लिम, सिख र इसाई धर्म) अनुसार विमानको पूजा गरिएको थियो । त्यसपछि एयरशोको आयोजना गरिएको थियो र अन्त्यमा विमान अवतरण गरिएपछि वाटर क्यानन स्यलूट दिइएको थियो ।

१७ वर्षपछि देशका कुनै रक्षामन्त्री अम्बाला एयरफोर्स स्टेशनमा आयोजित कुनै ठूलो समारोहमा सामेल भएका हुन् । यसअघि सन् २००३ को अगस्तमा एनडीए सरकारका रक्षामन्त्री जर्ज फर्नान्डिसले ७३ वर्षको उमेरमा अम्बालाबाट मिग २१ बाइसनमा उडान भरेका थिए ।

भारतले फ्रान्ससँग सन् २०१६ मा ५८ हजार करोड भारतीय रुपैयाँमा ३६ राफेल विमान खरिद गर्ने सम्झौता गरेको थियो । यसमा ३० वटा फाइटर विमान र ६ वटा प्रशिक्षण विमान रहेका छन् । 

प्रतिक्रिया दिनुहोस