राष्ट्रगुरु योगी नरहरि नाथले रोजेको भूमि महासंकटमा पनि उपयोगी

प्रकाश सिग्देल

बुधबार, २४ भदौ २०७७, १४ : ५९
राष्ट्रगुरु योगी नरहरि नाथले रोजेको भूमि महासंकटमा पनि उपयोगी

चितवन । राष्ट्रगुरु योगी नरहरि नाथले रोजेको बागेश्वरीको यो भूमि कोरोनाको महासंकटमा पनि उपयोगी बनेको छ । कोरोनाबाट छुटकारा पाउनका लागि मात्रै नभै कोरोनाको कारण मृत्यु भएकाहरुको अन्तिम संस्कार पनि अहिले यही भूमिमा भएको छ । 

योगी नरहरि नाथको आश्रम रहेको क्षेत्र देवघाट जाने बाटोको दायाँतर्फ रहेको क्षेत्रमा संचालित प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमित बिरामीहरुको प्राकृतिक तवरबाट उपचार हुँदै आएको छ भने आश्रमको ठिक अगाडि सडकको बायाँतर्फको नदी किनारको जंगलमा कोरोनाबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार हुने गरेको छ ।

राष्ट्रगुरु योगी नरहरि नाथले बागेश्वरी क्षेत्रलाई जल, जमिन र जंगलको सहि समागम भएको मानव समाजका लागि बहुउपयोगी, संकटको सामना गर्न सक्ने मुक्ति क्षेत्रका रुपमा चित्रण गर्नु भएको छ । अहिले यो क्षेत्र यस्तै जटिल प्रकारको समस्या समाधानका लागि प्रयोग भएको छ । 

चितवनको भरतपुर महानगरपालिका, वडा नम्बर १ को बागेश्वरी क्षेत्र राष्ट्रगुरु योगी नरहरि नाथको प्रमुख रोजाईको क्षेत्र हो, जहाँ योगी नरहरि नाथले धेरै समय ब्यतित गर्नुभयो । राष्ट्रगुरु योगी नरहरि नाथले धेरै समय बिताएको आश्रममध्ये काठमाडौँको मृगस्थली आश्रम पहिलो र बागेश्वरी क्षेत्र दोस्रो स्थान भएको गुरुका चेला योगी श्रीष नाथले बताउनु भयो । बागेश्वरी धार्मिक, पौराणिक, आध्यात्मिक तथा पर्यावरणीय रुपमा निकै महत्वपूर्ण क्षेत्र भएकाले राष्ट्रगुरुले यो भूमि छनोट गर्नु भएको योगी श्रीष नाथ बताउनु हुन्छ ।

अयोध्याका राजा दिलिप राजकाज सम्हाल्ने उत्तराधिकारी नभएपछि चिन्तित हँुदै रानीसहित देवघाट आएर आफ्ना गुरु वशिष्ठसँग सन्तान प्राप्तिका लागि आशिष माग्दा गुरु वशिष्टले नन्दिनी गाईको सेवा गरेर यहाँ बस्नु भनेपछि उनी यहीँ बसेर गाईको सेवा गरेको र सन्तान प्राप्त गरेकोले पनि यो भूमिको महत्व रहेको योगी श्रीष नाथको भनाई छ । यो कुरा रघु वंश भन्ने पुस्तकमा उल्यख रहेको नाथ बताउनु हुन्छ ।

राजा दिलिपले देवघाट बागेश्वरी क्षेत्रहुँदै हालको त्रिशुली र सेतीको संगम गाईघाटसम्म नन्दिनी गाई चराउन लगेको, संगममा गाईले बाच्छी पाएको र बाघले बाच्छी आक्रमण गर्न खोज्दा नदीको पानीले बाच्छीलाई बीचमा पारेर जोगाएको प्रसंग नाथले उल्लेख गर्नु भयो । भगवान रामचन्द्र बागेश्वरी क्षेत्र र देवघाटमा रहेर गुरु वशिष्टसँग शिक्षादीक्षा लिएकाले पनि बागेश्वरी क्षेत्र महत्वपूर्ण स्थानका रुपमा रहेको श्रीष नाथको भनाई छ ।

भगवान श्रीरामले देवघाटमा अश्वमेघ यज्ञ गर्नु भएको र राष्ट्रगुरु योगी नरहरि नाथले पहिलो पटक २०३८ सालमा देवघाटमा पहिलो कोटी होम भगवान रामले गरेकै कुण्डमा गर्नु भएको उहाँ बताउनु हुन्छ । त्यसपछि ४० सालदेखि राष्ट्रगुरु योगी बागेश्वरीमा कुटी बनाएर बस्न थाल्नुभएको गुरुले प्रकाशित गरेको शिखरिणी यात्रा पुस्तकमा उल्लेख छ । त्यहाँ संस्कृत विश्वविद्यालय बनाउने भनेर गुरुले विशेष पहल पनि गर्नु भएको पुस्तकमा उल्लेख छ । 

बागेश्वरीमा आश्रम निर्माणसँगै २०४९ साल चैत १९ गते उहाँले ५४ औँ कोटी होम बागेश्वरीमा गर्नु भएको, २०५० साल फागुन २६ गते शिवरात्रिदेखि चैत १ गतेसम्म दाङका रणबहादुर शाह (गोथेबाबु) को संयोजकत्वमा प्रथम विश्व योग आयुर्वेद सम्मेलन, २०५३ माघ महिनाको वसन्त पञ्चमीमा चितवन क्षेत्रपुरका शान्त पोखरेलको संयोजकत्वमा प्रथम विश्व वैदिक सन्त सम्मेलन, २०५४ र २०५७ सालमा पुनः बागेश्वरीमा कोटी होम गुरुले गर्नु भएको योगी ब्यग्र वेद नाथले बताउनु भयो । 

गुरुले यहाँ तीन पटक कोटी होम र महत्वपूर्ण सभा सम्मेलन गर्नु भएको थियो । यहाँ गाई संरक्षणको केन्द्र बनाउनु भएको छ । यहाँ महत्वपूर्ण धार्मिक मठ, मन्दिरहरु समेत रहेका छन् । योगीले देश, विदेश गरी १२९ वटा कोटी होम लगाउनु भएको थियो । राजा महाराजाहरुले मात्रै कोटी होम गर्न सक्ने तत्कालीन अवस्थामा जनताले पनि कोटी होम गर्न सक्छन् भन्ने देखाउन योगीले कोटी होम गरेको र देवघाट पवित्र स्थान हो भनेर विश्वमा चिनाउन पनि कोटी होम भएको नाथको भनाई छ । गुरुले स्थापना गर्नु भएको स्थानमा अहिले कोरोना बिरामीको निःशुल्क सेवा गरी मानव हितको काम भएकोमा योगीले खुशी ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस