कोरोना भाइरस

भेनेजुएलामा सेप्टेम्बर महिनाभित्रै रुसी खोप

एजेन्सी

बुधबार, २४ भदौ २०७७, १२ : २०
भेनेजुएलामा सेप्टेम्बर महिनाभित्रै रुसी खोप

सांकेतिक तस्विर

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको “स्पुतनिक भी” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन् ।

भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिएका हुन् । 

उनले आगामी राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिने बारेमा राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारीसँग कुरा भइरहेको पनि बताए । चुनावमा करिब १४ हजार ४०० जना उम्मेदवार हुने सम्भावना छ । 

रुसको गामालेया केन्द्रले निर्माण गरेको कोभिड–१९ को खोपलाई रुस सरकारले औपचारिक मान्यता प्रदान गरिसकेको छ । 

रुसी खोप उत्पादनकर्ता रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी किरिल डिमिट्रेभले विश्वका २० भन्दा बढी मुलुकले अर्बौं डोजका लागि आवेदन दिइसकेको बताएका छन् । उनले रुसी खोप विश्वका पाँच वटा राष्ट्रमा उत्पादनका लागि रुसले सहमति दिइसकेको पनि जानकारी दिए । (रासस–एएनआई)

प्रतिक्रिया दिनुहोस