गैंडाकोट ४ का अघिकांश स्थान डुबानमा, डुबानको समस्या समाधान गर्न माग

प्रकाश सिग्देल

बुधबार, २४ भदौ २०७७, ०९ : ४६
गैंडाकोट ४ का अघिकांश स्थान डुबानमा, डुबानको समस्या समाधान गर्न माग

नवलपरासी पूर्व । लगातार आएको वर्षाका कारण नवलपरासी पूवको गैंडाकोट नगरपालिका वडा नम्वर ४ को करिव ५० भन्दा बढी घर डुबानमा परेको छ । 

रातिदेखि चट्याङसहित वर्षा हुँदा गैंडाकोटको कालिगण्डकी चोकदेखि झपर्दी हुँदै कांग्रेस चोक, पानी टंकी लगायतका क्षेत्रका करिव ५० भन्दा धेरै घरहरु डुवानमा परेको प्रारम्भिक रिपोर्ट आएको ४ का अध्यक्ष कृष्ण न्यौपानेले बताए ।

बाढीका कारण स्थानीय प्रभावितहरुको अन्नपात लत्ताकपडा सबै नष्ट भएको छ । त्यस्तै स्थानीय मौरी पालक किसान रामप्रसाद आचार्यको ८० घार मौरी बाढीले बगाएको र धेरै धान खेत डुवानमा परेको न्यौपानेको भनाइ छ ।

यस अघि पनि आएको बाढीका कारण गैंडाकोटमा ८५ घर डुबानमा परेको थियो ।  आफू बाढी प्रभावित क्षेत्रमै रहेको बताउँदै अध्यक्ष न्यौपानेले वर्षा हुने क्रम नरोकिएकाले अझै जोखिम रहेको बताए ।

गैंडाकोट १ र २ क्षेत्रको जंगल तथा मानवबस्तिबाट बगेर आएको भेल बाढी का रुपमा परिणत हुँदै ४ मा छिर्ने र त्यही भेलले ४ नम्वर वडा डुवानमा पर्ने गरेको छ ।  

स्थानीय सामाजिक अभियान्ता लक्ष्मी भट्टराइले गैंडाकोटमा उचित ढल निकासको प्रवन्ध नहुँदा हरेक वर्ष यहाँका स्थानीयले यस्तो समस्या भोग्नु परेको बताइन् । बाढी तथा डुवानबाट जोगाउन स्थानीय सरकारले ढल निकासको उचित प्रवन्ध गर्नुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस