आवश्यक आइसोलेसन थपिन्छ : भरतपुर महानगर प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, ११ : २४
आवश्यक आइसोलेसन थपिन्छ : भरतपुर महानगर प्रमुख रेनु दाहाल

फाइल फोटो

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेसन थपिने बताएकी छिन् । केही दिन अघि सम्पन्न महानगरको ४६ औँ पूर्ण बोर्ड बैठकमा बोल्दै मेयर दाहालले यस्तो बताएकी हुन् ।

अनलाइन बैठकमा बोल्दै मेयर दाहालले महानगरवासीको स्वास्थ्य सुरक्षाको विषय महत्वपूर्ण भएकाले यसका लागि महानगरले कुनै पनि कसर बाँकी नराख्ने बताइन् । साथै, उनले महामारीबीच काम गर्नका लागि महानगर टिम सशक्तरुपमा लागिपरेको बताइन् । बोर्ड बैठकले भरतपुर महानगर कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालन कार्यविधि पारित गरेको उनले बताइन् । आयुर्वेदिक र प्राकृतिक विधिअनुसार सङ्क्रमितको उपचार चिकित्सालयमा थालिएको छ ।

बैठकमा सहभागी भएका महानगरका प्रवक्ता एवम् वडा नं–१० का अध्यक्ष अरूण पीडित भण्डारीले प्राकृतिक चिकित्सालयमा स्थापना गरिएको आइसोलेसन सञ्चालन, व्यवस्थापनसम्बन्धी अपनत्व महानगरले लिएको बताए । साथै, हरेक वडामा कोरोना महामारीसँग आइपर्ने समस्या समाधानका लागि वडा अध्यक्षलाई नै जिम्मा दिई काम गरिरहेको उनले बताए ।

कोरोना सङ्क्रमित भेटिएको अवस्थामा हरेक वडाबाट वडा अध्यक्षको सिफारिसमा चिकित्सालयमा पठाउने निर्णय महानगरले गरेको छ । आइसोलेसन सञ्चालनमा कुनै कठिनाइ नहोस् भनी १५ लाख अनुदानस्वरुप भुक्तानी गरिएको छ । सङ्क्रमितको उपचारका लागि चिकित्सालयमा ३ जना चिकित्सक, सहायक चिकित्सक २ जना, प्रशासनिक व्यक्ति १ जना, भान्से ४ जना र सरसफाइमा ४ जना गरी १४ जना जनशक्ति खटिएका छन् ।

भरतपुर–१ को वागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय स्थापना र सञ्चालन तथा व्यवस्थापनसम्बन्धमा विभिन्न समिति गठन गरिएको छ । महानगर प्रमुख मेयर रेनु दाहालको संरक्षकत्वमा भरतपुर वडा नं–१० का अध्यक्ष एवम् प्रवक्ता अरूण पीडित भण्डारीको संयोजकत्वमा वडा अध्यक्षहरु चित्रसेन अधिकारी, पदमपाणि सुवेदी, जयराम श्रेष्ठ, विजय भुजेल, दामोदर न्यौपाने, पूर्णबहादुर श्रेष्ठ, नरिनारायण पौडेल र चन्द्रमित्र पण्डित तथा चिकित्सालयका डा। हेमराज कोइराला सदस्य रहेको आइसोलेसन व्यवस्थापन समितिलाई बोर्ड बैठकले अनुमोदन गरेको छ ।

प्रदेश सांसद्हरु क्रमशः घनश्याम दाहाल, विजय सुवेदी, मिलनबाबु श्रेष्ठ र गीता वाग्ले रहेका छन् । साथै, जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, उपमेयर पार्वती शाह ठकुरी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, महानगरका प्रमुख कार्यकारी प्रेमराज जोशी, भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारी, चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरूङ र चिकित्सालयका अध्यक्ष कमल मल्ल सदस्य रहेको सल्लाहकार समिति गठन गरिएको महानगरका प्रवक्ता भण्डारीले जानकारी दिए ।

कोरोना सङ्क्रमण तथा आइसोलेसन व्यवस्थापनका लागि ९ जना वडा अध्यक्षलाई विभिन्न वडाको जिम्मा दिइएको छ । भरतपुर वडा नम्बर–१०, १२ र ७ को जिम्मा प्रवक्ता अरूण पीडित भण्डारी, वडा नम्बर–२१, १७, १८, १९ र २० को जिम्मा वडा अध्यक्ष चित्रसेन अधिकारी, वडा नम्बर–५, १४ र १५ को जिम्मा वडा अध्यक्ष पदमपाणि सुवेदी, वडा नम्बर–१ र २९ को जिम्मा वडा अध्यक्ष जयराम श्रेष्ठ, वडा नम्बर–२ र ११ को जिम्मा वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, वडा नम्बर–२५, २६, २७ र २८ को जिम्मा वडा अध्यक्ष विजय भुजेल, त्यस्तै वडा नम्बर–३, ४, १६ को जिम्मा वडा अध्यक्ष चन्द्रमित्र पण्डित, वडा नम्बर–८, ९, १३ र ६ को जिम्मा वडा अध्यक्ष दामोदर न्यौपाने तथा वडा नम्बर–२३, २२, २४ को जिम्मा वडा अध्यक्ष नरिनारायण पौडेललाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस