सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ : समूह चरणमा खेलैपिच्छे विकेट

रासस

सोमबार, २२ भदौ २०७७, २१ : ०२
सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ : समूह चरणमा खेलैपिच्छे विकेट

फाईल तस्वीर

काठमाडौं । ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ । जमैका तलावाजबाट खेल्दै आउनु भएका उहाँ समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल हुनुभयो ।  

सीपीएलको समूह चरणको सबै खेलहरु आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले दश दश वटा खेल खेलेका थिए । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा सन्दीपले बलिङ गर्न पाउनु भएन । बाँकी नौ वटा खेलमा भने उहाँले खेलैपिच्छे विकेट लिनुभयो । सन्दीपको बलमा विपक्षी खेलाडीहरुले खुलेर रन बनाउन सक्नुभएन । उहाँले प्रत्येक खेलमा निकै किफायती बलिङ गर्नुभयो । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म नौ खेलमा १२ विकेट लिनुभयो । 

जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाउनुभयो । जमैका समूह चरणका १० खेलमध्ये तीनमा जीत तथा ६ वटामा हारका साथ ७ अङ्क बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा खुम्चियो । यद्दपी सन्दीपले भने जमैकाका लागि कसिलो बलिङ गर्नुभयो । 

सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिनुभएको थियो । उक्त खेलमा उहाँले चार ओभरमा २३ रन खर्चिनुभएको थियो । सो खेल जमैकाले ५ विकेटले जित्यो । यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिनुभएको थियो । उहाँले ट्रिनबागो नाइट राइडर्सविरुद्धको उक्त खेलमा ४ ओभरमा ३० रन दिनुभएको थियो । उक्त खेल राइडर्सले सात विकेटले जितेको थियो । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिनुभयो । उहाँले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिनुभयो । उक्त खेलमा उहाँले हालसम्मकै उत्कृष्ट खेल देखाउनुभएको थियो । तर सो खेलमा जमैका १४ रनले पराजित भयो । 

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिनुभयो । गुएना अमेजन वारियर्सविरुद्धको उक्त खेलमा उहाँले चार ओभरमा मात्र १२ रन खर्चिनुभयो । सो खेलमा जमैका पाँच विकेटले विजयी भयो । यस्तै पाँचौ खेलमा सन्दीपले दुई विकेट लिनुभएको थियो । बार्बाडोस ट्राइडेन्ससितको सो खेलमा उहाँले ४ ओभरमा १६ रन दिनुभयो । सो खेलमा जमैका ३६ रनले पराजित हुन पुग्यो । 

यस्तै सेन्ट किट्स विरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिनुभयो । सो खेलमा उहाँले चार ओभर बलिङ गर्दै २७ रन खर्चिनुभयो । उक्त खेलमा जमैका ३७ रनले विजयी भयो । सातौँ खेलमा सन्दीपले एक विकेट लिनुभयो ।  ट्रिनबागो नाइट राइडर्सविरुद्धको सो खेलमा उहाँले चार ओभर बलिङ गर्दै २० रन दिनुभयो । सो खेलमा ट्रिनबागोले जमैकालाई १९ रनले पराजित गरेको थियो । 

यस्तै सेन्ट किट्स विरुद्धको आठौँ खेलमा सन्दीपले जमैकाका लागि बलिङ गर्न पाउनु भएन । उक्त खेल वर्षाका कारण रद्द भएको थिरयो । तर नवौँ खेलमा भने सन्दीपले एक विकेट लिन सफल हुनुभयो । बार्बाडोस ट्राइडेन्स विरुद्धको सो खेलमा उहाँले चार ओभर बलिङ गदै २६ रन दिनुभयो । उक्त खेलमा जमैका सात विकेटले पराजित हुनपुग्यो । समूह चरणको अन्तिम खेलमा सन्दीपले निकै किफायती बलिङ गर्नुभयो । सेन्ट लुसिया विरुद्धको खेलमा उहाँले चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिनुभयो । तर उहाँको टोली जमैका भने उक्त खेलमा ११ रनले पराजित भयो ।  

सन्दीपको टोली जमैकाले अब मंगलबार सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । उक्त खेलमा हालसम्मको खेल प्रदर्शनको आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । जमैकाले बलिङ लाइन सन्दीप माथि निर्भर रहने गरेको छ । उहाँले विपक्षी खेलाडीलाई खुलेर रन बटुल्न दिनुभएको छैन । सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आउनुभएको त्यसैगरी ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ ।  

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उहाँले यसअघि दुई पटक सीपीएल खेलिसक्नुभएको छ । पहिलो पटक सन् २०१८ मा उहाँलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले सन् २०१९ मा सन्दीपलाई ७० हजार डलरमा अनुबन्ध गरेको थियो । सीपीएल सकिएपछि सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानुहुनेछ । यस यामको आईपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभएर युएईमा हुँदैछ । सन्दीपले आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नु हुनेछ । उहाँ दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित हुनुभएको हो । 

प्रतिक्रिया दिनुहोस