CG Landmark
विचार

आइसोलेसनबाट स्वास्थ्यमन्त्रीलाई पत्र

Safal khabar

सोमबार, २२ भदौ २०७७, १५ : ०६
आइसोलेसनबाट स्वास्थ्यमन्त्रीलाई पत्र

– नवीन पराजुली

माननीय मन्त्रीज्यू, नमस्कार । म तपाईंले सम्हाल्नु भएको मन्त्रालयलाई आफ्नो पेशागत अभिभावक मान्दै काम गरिरहेको एक स्वास्थ्यकर्मी जो अहिले कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनबाट यो पत्र लेखिरहेको छु । आशा गर्छु मेरो पत्रले तपाईंको पदको मानमर्दन गर्ने छैन ।

Yeti Diistillery Tansen Cement box

हाल देश जटिल परिस्थितिबाट गुज्रिरहेको छ । यो प्रकोप आममानिसको स्वास्थ्यसँग सम्बन्धित भएकै कारणले पनि यति बेला तपाईंको दैनिकी कति ब्यस्त, तनाबयुक्त छ भन्ने म बुझ्न सक्छु । तपाईंले नेतृत्व गर्नु भएको यस रोग विरुद्धको लडाईंमा म पनि एक सिपाही हुँ । म जस्तै झन्डै ३० हजार स्वास्थ्यकर्मी आजसम्म निरन्तर लडिरहेका छौँ । 

मन्त्रीज्यू, हरेक दिन मन्त्रालयबाट जारी हुने प्रेस मिटमा आममानिस कोरोना नियन्त्रणमा गरिएका कार्यहरु र त्यस्को सकारात्मक नतिजा सुन्न सधैँ आतुर भै रहन्छन् । म जस्ता हजारौँ स्वास्थ्यकर्मी हामीलाई आउने निर्देशन, हाम्रो मनोभावना लक्षित सम्बोधन कुरिरहेका हुन्छौँ । तर आममानिसको मानसिकता कोरोना भाइरसले गिजोलिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यममार्फत तपार्ईंंको नाम जोडिएर आएका भ्रष्टाचार, अनियमितता, बिबादास्पद भनाई, फितलो ब्यवस्थापन आदि कुराहरु सुनिरहँदा दिक्क मान्दै, केही अदृश्य शक्तिको भरमा मात्र अब जीवन सम्भव छ भनेर बसिरहेका छन् । एक सालिन र उच्च छवि भएको ब्यक्तिमाथि लागेको यो आरोप कति सहि सत्य हो भविष्यमा प्रमाणित होला । तर हामी स्वास्थ्यकर्मीहरुप्रति जारी गरिएका महामारीको सुरुवाती दिनदेखि हाल एक चिकित्सक र स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन कार्यविधि २०७७ आइपुग्दासम्म मन्त्रालयको धारणा बाहिरी रहँदा यो पत्र तपार्ईंंलाई नलेखी बसिरहन सकिन । 

मन्त्रीज्यू, कोरोना भाइरसको नियन्त्रण र उपचारमा तपाईंसँगै जोडिएर कुन कुन पदमा, देशको कस्तो कस्तो ठाउँबाट कुन कुन संस्थाबाट चिकित्सक र स्वास्थ्यकर्मी खटिरहेका छन् भन्ने कुरा तपार्ईंं र तपार्ईंंको टिमलाई न्युनतम जानकारी पनि रहेनछ । कसरी ती यो लडाईंमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोभावनामा ठेस लागेको छ भन्ने कुरा बुँदागत रुपमै म तपार्ईंंलाई प्रष्ट पार्न चाहन्छु ।

१) कोरोना महामारीको नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीको जोखिमको आधारमा वर्गीकरण गर्दा म जस्तो एउटा गाउँको स्वास्थ्यचौकीमा काम गर्ने हेल्थ असिस्टेन्ट, अन्य अहेब, अनमी, कार्यालय सहयोगी लगायतका कर्मचारी जोखिमको थर्ड लाइनरभित्र पनि समाबेश गरिएन । किन गरिएन भन्दा जोखिममा छैन भनेर तपाईंका सल्लाहकारले आँखा छोपिदिए वा अरु कुनै बाध्यता थियो, त्यो यहाँलाई नै थाहा होला । उपचारमा संलग्न चिकित्सक र केही स्वास्थ्यकर्मीलाई फ्रन्टलाइनर मानी सोही बमोजिम निर्देशिका जारी गरियो । उनीहरुलाई जोखिम भत्ता दिने भनेर भनियो । त्यसको ब्यवस्थापनको सबै जिम्मेवारी स्थानीय तहलाई भनियो । तर स्थानीय तहलाई बाध्यताकारी हुने गरी परिपत्र गरिएन । त्यसले गर्दा केन्द्रले स्थानीय तह र स्थानीय तहले केन्द्रलाई देखाउँदै आलटाल भई नै रह्यो । 

यसबीच कुनै कुनै स्थानीय तहले धेरथोर आफ्नो मातहतमा रहेका कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप भत्ता दिएको छ भने कतै देशकै नमुना नगर, महानगरपालिकाले स्वस्थ्यकर्मीलाई जोखिम भत्ता नदिई प्रशासनका कर्मचारीहरुलाई बाँडेको समाचार बाहिरियो । यस्तो हुनुमा स्पस्ट रुपमा स्थानीय तहलाई परिपत्र नगर्नु र स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रलाई बायस गरी केन्द्रको संस्था, केन्द्रका कर्मचारीलाई मात्र कोरोना महामारीमा खटिएका छन् भन्ने भ्रम तपार्ईं र तपार्ईंंको टिममा रहेको पाइयो । अझ स्पष्ट भन्दा स्थानीय तहलाई गरिएको विभेद थियो । 

ठुला अस्पतालले ज्वरो आएको बिरामी आउँदा ढोका बन्द गरेर बसिरहँदा गाउँगाउँमा स्वास्थ्य चौकीहरुबाट नियमित सेवा प्रदान गरिरहेको, शंकास्पद ब्यक्तिको खोजी गरी क्वारेन्टिनमा खटिएका, पोजेटिभ देखिएकाहरुलाई प्रत्यक्ष भेटेर उपचार, सल्लाह, सुझाब र कन्ट्याक्ट ट्रेसिङ गर्ने, विभिन्न संस्था, समूहहरुलाई जागरुक गराई सचेतना फैलाउने कार्य ती गाउँगाउँका स्वास्थ्यकर्मीले गरेका हुनाले पनि संक्रमण नियन्त्रणमा ठूलो सहयोग पुगिरहेको छ । अनि कसरी छुटाउन सक्नु हुन्छ ती संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ? 

म एउटा स्वास्थ्यचौकीको कर्मचारी नियमित सेवामा रहँदारहँदै कति बेला संक्रमित भएँ, थाहा पाइन । हो, पक्कै पनि उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी भन्दा कम जोखिममा नियन्त्रण र ब्यवस्थापनमा खटिने हामी थियौँ होला । तर हाम्रो सकृयता, हाम्रो मेहनत, हाम्रो लगनशीलतालाई नै बेवास्ता गर्ने मन्त्रालयको त्यो निर्णयले स्वास्थ्यकर्मीहरुको मनोभावनामा गहिरो ठेस लागेको थियो ।

२) स्वास्थ्य सुरक्षा सामग्री खरिदमा अर्बौं रुपैयाँ भ्रष्टाचार भयो भन्ने सुनियो । जेसुकै होस् तर हामीले सुरक्षा सामग्री पाउने छौँ र यो लडाईंमा डटेर लड्ने संकल्प गरेका थियौँ तर हामी स्वास्थ्यकर्मी फेरि पनि निरास हुन पुग्यौं । साना साना बच्चाहरुलाई काखमा राखेर खोप लगाउने स्वास्थ्यकर्मी एक जोर सर्जिकल मास्क ३ दिनसम्म धुँदै लगाउन बाध्य भए । फिबर क्लिनिक संचालन गरेका, क्वारेन्टाइनमा खटिएकाहरु गुणस्तरीय पिपिईको अभावमै काम गरिरहे । अब फेरि नभनिदिनुस् किन चाहियो पिपिई ? भात पकाउँदा पनि पिपिई लगाउने हो र ? 

रुमालको मास्क, पानी पिउने बोतलको फेस सिल्ड, प्लास्टिकको पिपिई लगाएर भए पनि हामी स्वास्थ्यकर्मी खटिरहेका छौँ । अब ती सहरका सुकिलामुकिलाको घेराबन्दीलाई तोडेर गाउँगाउँमा हजारौँ कर्मचारी कसरी काम गरिरहेका छन् भनेर हेर्दिने र एक वचन सोध्दिने पो हो कि मन्त्रीज्यू ? आफ्नो अभिभावकबाट आडभरोसा, सान्त्वनाका शब्द मात्र पाए पनि काम गर्ने हौसला बढेर जान्छ । हामी अझै पनि स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्दै, ‘पहिले आफू सुरक्षित रहनुस्, आवश्यक सुरक्षा सामग्री प्रयोग गर्नुस्, मन्त्रालयले सोधभर्ना गर्नेछ’ भनिदिनुस् । यो लडाईंमा थप उर्जाका साथ कार्यसम्पादन गरेर देखाउने छौँ ।

३) हालसालै मन्त्रालयका प्रवक्ताबाट बाहिर आएको ‘एक चिकित्सक र स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था संचालन कार्यक्रम सम्बन्धी कार्यविधि २०७७’ मा चिकित्सकहरुलाई तलबको सात गुणादेखि १० गुणासम्म दिन सकिने भन्ने कुरा सुनियो । सरकारी चिकित्सकहरु निजी संस्थामा काम गर्ने र गर्नु पर्ने बाध्यतालाई अन्त्य गर्न यो कदमले केही सकारात्मक नतिजा त पक्कै ल्याउला । तर स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका ३० हजार स्वास्थ्यकर्मीलाई प्रोत्साहनको निम्ति केही पनि नगरी कुल १ हजार ६ सय चिकित्सकलाई मात्र केन्द्रित गरी यस्तो योजना ल्याउँदा फेरि पनि म जस्ता न्यून तलबमा गुजारा गरेर देशको सेवामा तल्लीन स्वास्थ्यकर्मीको मानसिकतामा कस्तो असर पर्ला ? एक बिरामी रोगबाट निको हुन कति जना जनशक्ति खटिएका हुन्छन्, चिकित्सकले मात्र यो सबै सम्भव भएको छ त ? 

मैले यसो भनिरहँदा चिकित्सकज्यूहरुको योगदानलाई निरुत्साहित गर्न खोजेको पनि होइन, लाखौँ खर्च गरेर पढेका चिकित्सकहरुलाई २०० देखि ३५० प्रतिशत भत्ता मात्र होइन, अन्य सुबिधा पनि थपिँदा राम्रो कुरा हो । त्यसमा आपत्ति भएन तर समग्र स्वास्थ्यकर्मीलाई राहत मिल्ने गरी योजना ल्याउनु होस् । एउटा स्वास्थ्यचौकीको मातहतमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविका र उहाँहरुले टोलटोलमा गठन गर्ने स्वास्थ्य आमा समूहमा लगानी गर्नुस् मन्त्रीज्यू । स्वस्थ समाजहुँदै स्वस्थ देश निर्माण हुन समय लाग्दैन । सधैँ केन्द्रकै संस्था, केन्द्रकै कर्मचारीमा लगानी गर्ने हो भने यसले संघीयताको मर्ममाथि नै प्रहार गर्दैन र ? होइन भने स्वास्थ्यका कार्यक्रम, स्वास्थ्यमा हुनु पर्ने न्युनतम लगानी र आवश्यकता सम्बन्धी प्रदेश र स्थानीय तहमा स्पष्ट परिपत्र तयार गरिदिनुस् एक पटक मात्र । अनि हेर्नुस् खस्किएको स्वास्थ्यका सूचकहरु सुधारिने छन् ।

४) कोरोना महामारीको नियन्त्रणमा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दो गतिमा छ । निजी क्षेत्र र सरकारी सेवामा रहेका जति पनि स्वास्थ्यकर्मी छन्, उनीहरुको हाल एउटै समस्या छ, त्यो हो आफ्नो परिवारको स्वास्थ्य । विदेशमा चिकित्सक र स्वास्थ्यकर्मीले जागिर छाडे भन्ने समाचार सुनियो तर त्यस्तो अवस्था हाम्रो देशमा सुनेका छैनौँ । यो विषम परिस्थितिमा हामी सबै इमानदारी साथ आफ्नो कर्म गरिरहेका छौँ । सधैँ ड्युटी सकेर फर्कंदा घरमा भएका आफ्ना बालबच्चा, बृद्ध बाआमासँगै बसिरहँदा निकै छट्पटाहट हुन्छ । मेरो कारण मेरो घर परिवारमा समस्या आउँछ कि भनेर पीडा हुन्छ । 

हिजो मेरो घर छेउमा स्वास्थ्यकर्मी छन् भनेर मख्ख पर्ने छिमेकी, बेलाबेला प्रेसर नाप्न र स्वास्थ्य सल्लाह लिने छिमेकी आज आफ्नो घरतिर हेर्दा पनि नहेरिदिए हुन्थ्यो, आफ्नो घरतिर फर्केर सास पनि नफेरिदिए हुन्थ्यो झैँ गर्छन् । हामी कति धेरै मानसिक यातनाबाट गुज्रँदै जानु पर्ने हो ? यस्तो अवस्थामा कति दिन स्वास्थ्यकर्मी काममा रहिरहलान् र ? तसर्थ यस्तो समस्याको न्यूनीकरण गर्न निजी अस्पतालको हकमा सोही अस्पतालले र सरकारी सेवामा रहेकाहरुको हकमा स्थानीय, प्रदेश वा केन्द्र कुन मातहतको कर्मचारी हो ? आफ्नो कर्मचारीको खान र बस्नको उचित ब्यवस्थापन तुरुन्त गर्नु पर्ने आवश्यकता देखिन्छ । 

यस्ता थुप्रै समस्या, वितृष्णाहरुबाट गुज्रँदै हामी अहिलेसम्म विचलित नभै यो विषम परिस्थितिमा आफ्नो कर्म गरिरहेका छौँ । यो रोगको ब्यवस्थापनमा स्थानीय तहमा विभिन्न टोली गठन गरी कार्यहरु भई नै रहेको छ ।

रोग ब्यवस्थापनमा जनस्वास्थ्यकर्मीहरुसँग सुरुका दिनहरुमा परामर्श गरी कार्यविधिहरु बन्दा, आरआरटी गठन हुँदा, जोखिम भत्ताबाट प्रोत्साहित भइन्छ भन्दा, विभिन्न संघसंस्थाबाट सुरक्षा सामग्री सहयोग र खरिद भैरहँदा, सामान्य मानिस आक्रान्त भई राज्यले केही गरेको छैन, सुतेर बसेको छ भन्दा त्यसको प्रतिरोध गर्दै आश्वासन दिँदै गर्दा र यो महामारीको मुखमा आएर सम्हाल्नु भएको मन्त्रालय र तपाईंको ब्यक्तित्वलाई उच्च सम्मानले सलाम गर्ने यी हात आज सरकारले प्रोत्साहन नगर्दा र समाजबाट अपहेलित भएको सुन्दा, हजारौँ स्वास्थ्यकर्मीको मनोभावनामा ठेस लाग्ने गरी एकपछि अर्काे गतिविधिहरु सुनिरहँदा सिंहदरबार जस्तो देशको सर्वाेच्च स्थानमा बसेर सानो देशको सिमित क्षेत्रसम्म पनि नजर नपुग्दा ती हातका कम्पनले शिरबाट हटा भन्छ मन्त्रीज्यू । धन्यवाद ।