कोरोना भाइरस

अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भारतमा

एजेन्सी

सोमबार, २२ भदौ २०७७, १२ : ५७
अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भारतमा

फाइल फोटो

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकापछिको स्थानमा ब्राजिललाई उछिन्दै भारत पुगेको छ ।

अहिले भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख पुगेको छ भने त्यहाँ सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७२ हजार नाघेको छ । देशको जनसङ्ख्याको हिसाबले कोभिडका कारण मानिसको मृत्यु हुने सङ्ख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ । तर तीव्र गतिमा भाइरसको सङ्क्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि चिन्ता बढेको छ ।

छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दक्षिण अमेरिकी देश ब्राजिलमा भन्दा पनि धेरै भएको छ । अर्थात संक्रमितको संख्यामा भारत अब विश्वमै दोस्रो स्थानमा छ । ब्राजिलमा संक्रमितको संख्या ४१ लाख ३७ हजारभन्दा धेरै रहेको छ ।

भारतमा लकडाउन खुलाएर जनजीवन सामान्य बनाउने क्रम जारी रहँदा संक्रमण अति तीव्र गतिमा बढिरहेको हो । ज्यान गुमाउनेको संख्यामा ब्राजिल दोस्रो नम्बरमा छ, त्यहाँ एक लाख २६ हजार ६ सय भन्दा बढीको ज्यान गइसकेको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ६२ लाख ७६ हजारभन्दा बढी संक्रमित भएकोमा एक लाख ८९ हजारको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म दुई करोड ७१ लाख तीन हजार भन्दा बढी संक्रमित भएका छन् र ८ लाख ८३ हजार भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस